ठगी आरोपमा एक महिला पक्राउ



चितवन ।

विदेश पठाइदिने भन्दै ३८ जनालाई ठगेको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ३८ जना व्यक्तिसँग झण्डै ४५ लाख ७५ हजार रुपैयाँ ठगेको आरोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मीना चौधरी सोमबार पक्राउ परेकी हुन् ।

आरोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

‘वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ । मेरो चिनजानका तथा आफन्त मार्फत भिसा मगाइ कम रकममा नै विदेश पठाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई ठगेको भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं’, उनले भने ।

आरोपितविरुद्ध चितवन जिल्ला अदालतमा ठगी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्