निःशुल्क अल्ट्रासाउन्ड सेवा शुचारू



लमजुङ ।

मध्यनेपाल नगरपालिकाले निःशुल्क अल्ट्रा साउन्ड सेवा शुरु गरेको छ । गाउँमै सहज रूपमा गर्भवती महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क अल्ट्रासाउन्ड सेवा शुरु गरेको हो ।

नगरपालिकाले वडा नं. ६ को भोर्लेटार स्वास्थ्य चौकीबाट अल्ट्रासाउन्ड सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्यलाई मध्यनजर गरी सेवा विस्तारका क्रममा नगरपालिका आफैंले लगानी गरी निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।

नगरपालिकाले ५ लाखमा एक थान मेसिन खरिद गरी सेवा शुरु गरेको हो । केही दिनमै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत पनि एक थान मेसिन प्राप्त हुने उहाँले बताउनुभयो । उक्त मेसिन वडा नं. ४ को रम्घा स्वास्थ्य चौकीमा राखिने भएको छ । नगरपालिकाले तालिम लिएका दक्ष स्वास्थ्यकर्मीबाट अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउने व्यवस्थासमेत मिलाएको छ ।

ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याका बारेमा समयमै पहिचान भई उपचारमा सहज हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले बताउनुभयो । मातृशिशु स्वास्थ्य अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने उद्देश्यका साथ नगरपालिकाले नगरप्रमुख आमा सुरक्षा कार्यक्रम शुरु गरेको हो । कार्यक्रमअन्तर्गत गर्भवती महिलाहरुलाई सम्पूर्ण प्रयोगशाला सेवा निःशुल्करूपमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, जटिल तथा अचानक समस्या आएमा स्वास्थ्य जाँच तथा उपचारका लागि गर्भवती तथा सुत्केरी महिलालाई जिल्लाभित्रै तथा जिल्लाबाहिर जानुपर्ने अवस्थामा एम्बुलेन्स खर्चसमेत उपलब्ध गराउँदै आएको छ । गर्भवती महिलाहरुलाई आवश्यक क्याल्सियम चक्की पनि नगरभित्रै स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरणको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जनाउनुभयो ।

सेवा शुरु भएसँगै आइतबार १० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । सोही अवसरमा साउनयता एम्बुलेन्स सेवा लिने गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स खर्च प्रदान गरिएको थियो । स्थानीय तहमै निःशुल्क भिडियो एक्सरेसहित प्रयोगशाला सेवा, जटिल अवस्थामा एम्बुलेन्स खर्चलगायतका सेवा निःशुल्करूपमा पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

ग्रामीण अल्ट्रासाउन्ड सेवा शुभारम्भ कार्यक्रम मध्यनेपाल–६ का वडाध्यक्ष विष्णुभक्त पौडेलको अध्यक्षतामा भएको थियो । नगरपालिकाभित्र हाल १० वटा स्वास्थ्य चौकी र ७ वटा वर्थिङ सेन्टर रहेका छन् ।

पालिकाका स्वास्थ्य संस्थाबाट गर्भवती जाँच तथा पीएनसी सेवा लिने १ सय ५२ महिलामध्ये १ सय १६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । हाल पीएनसी सेवा लिने गर्भवती महिलाको सख्या १ सय ६२ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्