दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गरिने



पर्वत ।

पर्वतको कुस्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचार–प्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशद्वारा आइतबारदेखि शुरु गरिएको पर्वत र वागलुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवं तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि ओझेलमा परेको दुर्लुङका पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताएका हुन् ।

‘इतिहासको साक्षी दुर्लुङको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटन बजारमा पुर्याउनुपर्छ’, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल भन्नुहुन्छ– ‘प्राकृतिक दृश्यावलेकनका लागि पनि यहाँको उत्तिकै महत्व रहेको छ, आसपासका गाउँका उत्पादनलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिन्छ ।’

त्यस्तै, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनको विकासका माध्यमबाट अघि बढाउन सकिने बताउँदै गण्डकी प्रदेशमा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि गन्तव्य पहिचान कार्यक्रममार्फत आफूहरु आएको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगमा यस्ता गन्तव्यको प्रवद्र्धन र विकास गर्न सकिने बताउनुभयो ।

त्यसै गरी, दुर्लुङकोट भूमे मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बाइसेचौबीसे राजाका पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको र मनले चिताएको पुग्ने धार्मिक स्थलका रूपमा रहे पनि पर्यटकीय रूपमा अझै ओझेलमा परेको बताउनुभयो ।

कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तहका तर्फबाट यस स्थलको विकासका लागि निरन्तर साथ र सहयोग गर्दै आइएको बताउनुहुन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध संघ–संस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढिरहेको बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्लुङकोटका पर्यटकीय सम्भावनालाई पर्यटन बजारसँग जोड्नुपर्ने बताउँदै यसका लागि स्थानीय जागरुकता आवश्यक हुने बताउनुहुन्छ । त्यसै गरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई पुनरूत्थान गर्नु जरुरी रहेको बताउँदै परिषद्ले पर्यटनसम्बद्ध सबै संस्थालाई साथमा लिएर हिँड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्