एमसीसी बुझाउन सबै तहमा जाँदै कांग्रेस



हेटौंडा ।

कांग्रेस वागमती प्रदेशले एमसीसीबारे स्थानीय तहमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । आइतबार सिन्धुपाल्चोकको सुकुटेमा बसेको कांग्रेस प्रदेश कार्यसमितिको दोस्रो बैठकले एमसीसीका सम्बन्धमा केन्द्रले उठाएका विषयवस्तु समावेश गरी आम जनताले बुझ्ने भाषामा थप विषयवस्तु तयार गरी जनतालाई बुझाउने निर्णय गरेको हो ।

आगामी स्थानीय निकाय निर्वाचनमा अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मत संख्यासहित डाटा संकलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिका प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरुको मासिक लेबी तोकेको छ भने कांग्रेस प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेबी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

बैठकले प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम शुरु गर्ने, प्रदेश सदस्यको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरेलाई तोकिएको छ ।

कांग्रेस वागमती प्रदेशको दोस्रो पूर्ण बैठकले जगदीशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ ।

कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरु, जिल्ला सभापतिहरुले एमसीसी, स्थानीय निकाय निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यबारे आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्