चिसोले हिमाली भेगका गाउँ नै शून्य



मुगु ।

मुगु जिल्लाको उच्च करानी भेग क्षेत्रको मुगुम गाउँको बस्ती हिमपात तथा चिसोका कारण शून्य भएको छ । कात्तिकबाट हिमपात भई चिसो बढेपछि गाउँका मानिस औल क्षेत्रमा झर्ने गरेका छन् ।

अहिले गाउँमा वद्धवृद्धा तथा दलित मात्र रहेका छन् । धेरै चिसो हुने भएकाले गाउँ नै छोडेर धेरै मानिस तल्लो भेग सरेको र पूजापाठका लागि एक जना पुजारी मात्र रहेको स्थानीय सोनाम तामाङ बताउनुहुन्छ । कोभिड–१९ को महामारीले विद्यालय बन्द रहेको छ भने चिसोका कारण बताउँदै स्वास्थ्य चौकी पनि बन्द छन् । जसले गर्दा बिरामी हुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

हाल उक्त गाउँमा ३५ जनामात्र विद्यार्थी छन् भने गाउँमा ७० जनासम्म बसोबास हुने गरेको छ । चिसोका कारण गाउँमा कोही नहुँदा तीन दिनमा एक दिनमात्र गुम्बामा पूजापाठ हुने गरेको छ । यो वर्ष लामो समयसम्म हिमपात भएकाले चैत महिनादेखि मात्र गाउँमा मानिस फर्कने मुगुम कार्मारोग गाउँपालिकाका स्थानीय गुरु स्याग्या लामाले बताउनुभयो ।

चिसोका कारण सीमा प्रहरी सुरक्षा चौकी पनि पुलुमा सरेको छ भने सरकारी कार्यालयले पनि मानिस गाउँमा नभएको भन्दै कर्मचारी पनि कार्यालयमा कम छन् । लामो समयसम्म हिउँ र बरफ जम्ने भयपछि कात्तिक महिनाबाट फाल्गुन महिनासम्म चिसो हुने, चिसोका कारण बसाइँसराइले मुगुम कार्मारोगका बस्तीमा शिक्षा, स्वास्थ्य, विद्युत्, यातायातलगायतका क्षेत्रमा पछि परेको छ ।

हिउँदमा स्थानीय अन्तै बस्दा यो क्षेत्रमा विकास हुन नसकेको मुगुम कार्मारोग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउनुहुन्छ । चिसोले मुगुम कार्मारोग गाउँपालिकाका मुगु, डोल्फु, ताखा, खारी, वागरीलगायतका आधा दर्जन बस्तीमा हिउँदमा मानव बसोबास कम हुँदै जाने गरेको छ । विगत वर्षभन्दा यो वर्ष चिसोले बसाइँ सर्नेको संख्या उल्लेख्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्