पत्रकार महासंघ बैतडीमा अवस्थी चयन



बैतडी, (नेस) ।

नेपाल पत्रकार महासंघ बैतडी शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन हुनुभएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोदसिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन हुनुभएको छ ।

यस्तै, चार जना राष्ट्रिय परिषद् सदस्य र नौ जना प्रदेश परिषद् सदस्यसमेत चयन गरिएको छ । सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।
जिल्लामा रहेका पत्रकारका संघ–संगठन (नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, पे्रेस सेन्टर) बीच भएको सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिनुभयो । विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले फागुन १ गते सर्वसम्मतरूपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो । यसका साथै विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि उत्तर विष्ट पनि यहाँ आउनुभएको थियो ।

यसैबीच, नयाँ कार्यसमितिलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विष्टले पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष खगेन्द्र अवस्थीले सदस्यता शुद्धीकरण अत्यावश्यक रहेकाले यो विषयलाई कडाइसाथ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसका साथै नवनिर्वाचित पत्रकार महासंघ बैतडीको कार्यसमितिको बैठकले सदस्यता शुद्धीकरण गर्न समिति गठन गरेको छ । चन्द्रप्रकाश लोहिया (सीपी) को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्