सडक बनाउन ‘सडकजाम’ !



बाँके ।

बाँकेको खजुरामा सडक बनाउनका लागि सडकजाम गरिएको छ । नेपालगन्ज–बर्दिया सडक खण्डको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटरको फोरलेन सडक निर्माणमा बेवास्ता गरिएपछि स्थानीयवासीले टायर बालेर विरोध गरेका हुन् ।

गजुरमुखी कन्ट्रक्सनले ठेक्का लिएको सडक चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । चार वर्षदेखि धुलोमा बस्न बाध्य भएपछि स्थानीयले सडकजाम गरेर दबाब दिएका छन् । स्थानीयवासी शतीश निरौलाका अनुसार मुख्य ठेकेदारबाट नभई पेटी ठेकेदारबाट काम भइरहेको छ । ठेकेदारले बेवास्ता नै गरेपछि सडक निर्माण अलपत्र परेको छ । सडक आसपासका बासिन्दाको धूँलोका कारण स्वास्थ्यमा असर परेको छ भने व्यवसाय चौपट भएको छ ।

स्थानीय बासिन्दाले छिटो काम सम्पन्न गर्नका लागि दबाब दिन पटक–पटक सडकजाम गर्ने, गाउँपालिकाको ध्यानाकर्षण गराउने गरिरहेका छन् । बिहीबार पनि सडकजाम गरेपछि स्थानीयवासी गाउँपालिकाको कार्यालयमा पुगेका थिए । गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले ठेकेदारले दुई दिनभित्र सडकको काम सुचारु गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । हुलाकी राजमार्गबाट चिनिएको उक्त खण्ड फोरलेन बनिरहेको छ । खजुरा खण्डमा ठेकेदारले बेवास्ता गरेको छ । ठेकेदार जिल्लाबाहिर रहेका छन् ।

स्थानीयवासीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठेकेदारले बेवास्ता गरेकाले अबका दिनमा ठेकेदारसँग कडारूपमा प्रस्तुत हुने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । ‘आज नै मैले बोलाउँथें । बाहिर रहेछन्’, उहाँले भन्नुभयो– ‘ठेकेदारले किन लापरबाही गरिरहेको छ । बुझ्छौं ।’

प्रतिक्रिया दिनुहोस्