चार दलद्वारा नगरपालिकामा तालाबन्दी



राजविराज ।

चार दल आबद्ध नेता/कार्यकर्ताले संयुक्तरूपमा सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा योजना, लेखा र प्राविधिक शाखामा तालाबन्दी गरेका हुन् ।

यसअघि गत माघ २४ गते ६ बुँदे माग राखेर नगरपालिकामा बुझाइएको ज्ञापनपत्रको कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । ज्ञापनपत्रमार्फत आर्थिक वर्ष २०७८÷७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकका कार्यालयले देखाएको बेरुजुको विवरण तथा आन्तरिक लेखा परिक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित भएका कानुनी कारबाहीसम्बन्धी निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने माग गरिएको थियो ।

त्यस्तै, कोभिड नियन्त्रणका खर्च भएका सबै विवरण, विपद् व्यवस्थापनमा भएका कार्य र सोमा भएका खर्च विवरण उपलब्ध गराउनुपर्ने, सडक बोर्डबाट प्राप्त भएको रकमको विवरण, नगरपालिकामा खरिद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, त्यसको उपयोगितासहित सम्पूर्ण खर्चको विवरण उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर ज्ञापन बुझाएको जसपा नेता रामकुमार यादवले बताउनुभयो ।

‘ज्ञापनपत्रमा उठाइएका मागहरु ७ दिनभित्र कार्यान्वयन नभए थप संघर्षमा जाने अल्टिमेटमसमेत दिइएका थियौं तर पनि उहाँहरुले कुनै सुनुवाइ गर्नुभएन’, उहाँले भन्नुभयो– ‘बाध्य भएर हामीलाई ताला लगाउनुपरेको हो ।’ ती विवरणहरु उपलब्ध नगराइएसम्म आन्दोलन जारी रहने उनीहरुको अडान छ । यता, नगरप्रमुख उत्तमकुमार शर्माले तालाबन्दी गर्ने दलका नेता–कार्यकर्ताहरुसँग वार्ताको प्रयास भइरहेको बताउनुभएको छ । नगर प्रमुख शर्मा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्