पशुपतिमा भगवानका चित्र पेन्टिङ गर्न मन्त्री आलेको निर्देशन



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिअघि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवी–देवताको चित्र पेन्टिङ गर्न निर्देशन दिनुभएको छ । पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि पुग्नु भएका उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

‘राष्ट्रदेव पशुपति क्षेत्रमा जताततै फोहरको थुप्रो छ, पर्खाल वरिपरि दिसा–पिसाबले भरिएको छ’, निरीक्षणकै क्रममा मन्त्री आलेले थप भन्नुभयो– ‘सबै सफा राख्नुस्, पर्खालहरुमा भगवानका चित्रले पेन्टिङ गर्नूस् ।’ यसै गरी, पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसलहरु व्यवस्थित ठाउँमा तत्काल सार्न र फूल–प्रसाद बिक्री गर्नेहरुका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्न समेत उहाँले निर्देशन दिनुभएको थियो ।

मन्त्री आलेले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्न समेत आग्रह गर्नुभयो । देश–विदेशबाट आउने लाखौंं भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताउनुभयो ।

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकारहरुलाई बोलाएर भित्तामा कलात्मक तश्वीर चित्रण गर्ने काम तत्काल शुरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्