पुष्पलाल स्मृति ब्याडमिन्टन शुरू



काठमाडौं ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा लिनिङ्ग ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताकै दौरान कार्यक्रममा हालै विश्व ब्याडमिन्टनको जुनियरतर्फ नम्बर १ स्थानमा रहन सफल प्रिन्स दाहाल र महिला युगलतर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै, उनीहरूलाई समान नगद ८ हजार ५ सय पनि प्रदान गरिएको थियो ।

नेपाल ब्याडमिन्टन संघअन्तर्गत् १२ औं वरीयतामा रहेका महिला खेलाडीबीच भएको प्रतिस्पर्धामा नम्बर एक नङ्गशल तामाङ्ग क्वार्टरफाइनलमा पुगिन् । उनले समूह ‘ए’ मा आफ्ना दुवै खेल जितेर अन्तिम आठमा स्थान बनाएकी हुन् । भोजपुरकी तामाङ्गले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गरिन् । सुनयना पराजित भएपनि अर्को खेलमा रोजलाई हराएर अन्तिम आठमा पुगेकी छन् ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पनि आफ्नो दुवै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी छन् । सेनाकी खेलाडीले समूह सी को पहिलो खेलमा एपिएफकी जेशिका गुरुङ्गलाई २१–१५, २१–१६ ले र दोश्रो खेलमा फिलेट नेपालकी तारा आले मगरलाई २१–७, २१–७ ले पराजित गरेकी थिइन् । प्रतियोगिताअन्तर्गत् १० औं संस्करणकी विजेता जेशिका पनि तारालाई हराएर अन्तिम आठमा पुग्न सफल भइन् ।

यसैगरी, सेनाकी अमिता गिरी पनि समूह ‘बी’ तर्फ बिजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गर्न सफल भइन् । उनले पहिलो खेलमा फिलेट नेपालकी मनीषा खड्का माथि २१–७, २१–७ को जित हासिल गरिन् । त्यसपछि सेनाकी प्रार्थना देउवालाई १९–२१, २१–१६, २१–१७ ले हराएकी थिइन् । प्रार्थनालाई अर्को खेलमा जित हासिल भएपछि अन्तिम आठमा पुर्याइएको छ ।

सेनाकै अर्की खेलाडी अनुमाया राईले पनि समूह ‘डी’ मा दुवै जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरिन् । राईले पहिलो खेलमा एपिएफकी शोभा गौचनमाथि २१–१२, २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४, २३–२१ को जित निकालिन् । निताले शोभालाई हराएर अर्को चरणको यात्रा गरिन् ।

पुरुषको उच्च १६ बरिता प्राप्तको एकल प्रतिस्पर्धामा एपीएफका दीपेश धामीले समूह ए मा दुई खेलमा जित हात पारे । उनले पहिलो खेलमा सेनामा प्रफुल्ल महर्जनलाई २१–१५, १८–२१, २१–१४ ले र दोश्रो खेलमा बाँकेका इरफान अन्सारीलाई २१–८, २१–१२ ले पराजित गरे । सोही समूहमा सुनील जोशीले एक जित र एक हार व्यहोरेका थिए । पुलिसका सुनील पहिलो खेलमा बाँकेका इरफान अन्सारीलाई २१–१५, २१–१४ ले पराजित गर्दा दोश्रो खेलमा सेनाका प्रफुल महर्जनसँग २१–१३, २१–१५ ले पराजित भए ।

समूह ‘बी’ को खेलमा सेनाका नविन श्रेष्ठले दुवै खेल जिते । उनले पहिलो खेलमा एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१५, ९–२१, २१–५ ले र दोश्रो खेलमा पुलिसका जीवन आचार्यलाई २१–७, २१–१५ ले पराजित गरे । सोही समूहमा साजन र जीवनले एक एक खेल जिते । दुवैले एपीएफका देवराज रानालाई हराएका थिए ।

समूह सीको खेलमा एपीएफका विजित थापा मगरले दुई जित निकाले । उनले पहिलो खेलमा बाँकेका बिलाल बारिसलाई २१–९, २१–१० र धातुका सुदीप सेढाईलाई २१–१४, २१–१७ ले हराए । सुदीपले आफ्नो पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१९, २१–१७ ले तथा दीपकले बिलाललाई २१–५, २१–१५ ले पराजित गरे ।

समूह ‘डी’को खेलमा १०औं संस्करणका विजेता रिभाइभका प्रिन्स र सेनाका रुकेश महर्जनले दुवै खेलमा जित निकाले । प्रिन्सले पहिलो खेलमा पुलिसका विष्णु कटुवाललाई २१–९, २१–१० ले तथा एपिएफका निराजन देवकोटालाई २१–४, २१–९ ले पराजित गरे । यस्तै, रुकेशले पहिलो खेलमा निराजनलाई २१–१०, २१–८ ले तथा दोश्रो खेलमा विष्णुलाई २१–१३, २१–१२ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्