एभरेस्ट र गुरुकुलको विजयी शुरुवात



धनगढी ।

जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालयस्तरीय टि–ट्वान्टी प्रतियोगिताको दोश्रो दिन एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिस स्कुल लम्कीले विजयी शुरुवात गरेका छन्।

दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमीले होलिल्यान्ड इंगलिस स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्यो । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्यान्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षतिमा भेट्टायो । एभरेस्टको ब्याटिंङमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए । उनले २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

टस जितेर ब्याटिङ गरेको होलिल्यान्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । होलिल्यान्डका लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए । एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए भने गोविन्द विष्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित एभरेस्ट एकेडेमीका कृष ऐरले दुई हजार रुपैयाँ प्राप्त गरे।

दोश्रो खेलमा गुरुकुलले स्टेपिङ स्टोन स्कुल धनगढीलाई १ सय ३१ रनले पराजित गर्यो । गुरुकुलले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोन १५.५ ओभरमा ५६ रनमा अलआउट भयो । स्टेपिंग स्टोनका लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए । गुरुकुलका बलर समीर रानाले ३ विकेट लिए भने बसिर एहमद र विशाल केसीले समान दुई विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय ८५ रन बनाएको थियो । गुरुकुलको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका बशिर अहमदले सर्वाधिक ४१ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे । यस्तै, यू–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनानले ३९ र विशालविक्रम केसीले ३७ रन बनाए । स्टेपिङ स्टोनका बलर सागर भण्डारीले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्