एमसीसीविरुद्ध एकीकृत समाजवादीको बुटवलमा प्रदर्शन



यमलाल भुसाल, बुटवल ।

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृ संगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृ संस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै आइतबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन ।

एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए ।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताउनु भयो । उहाँले सम्झौता लागू गराउन अमेरिकाले नेताहरूलाई धम्की दिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताउनु भयो ।

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शनमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसीसी परियोजनाबारे राजनैतिक र नागरिक तहमा थुप्रै प्रश्नहरू उठेकाले त्यसबारे सहमति नगरीकन संसदनमा लैजानै नहुने अडान लिर्नु भयो । विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसिसि परियोजना खारेज गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्