जनजातिको हित तथा उत्थानका लागि प्रतिबद्ध छु : मन्त्री आले

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताउनु भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१ औँ स्थापना दिवसका अवसरमा आज मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले जनजातिको वृद्धि विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनजातिको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्यून हुँदै आएको छ, मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने छु ।”  नेपालको जनगणना विसं २०६८ अनुसार जनजातिको सङ्ख्या करिब ३५.२५ प्रतिशत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातिहरूका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन समेत दिनुभयो ।

यसै गरी मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम सहित प्रपोजल ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराउनुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफू वन तथा वातावरण मन्त्री भएका बेला वैज्ञानिक वनका नाममा देशका हरियाली रुखहरू विनाश गर्ने तस्करहरूको योजना विफल पारेको दाबी समेत गर्नुभयो ।

उहाँले थप भन्नुभयो, “वैज्ञानिक वनका नाममा रुख काट्न आदेश दिने केही व्यक्तिलाई अख्तियारले मुद्दा दायर गरेर कठघरमा राखेको छ, वन विनाश गर्नेहरू सबै कारबाहीमा पर्ने छन् ।” आफूले वन विनाश गर्ने योजना विपल पारेकै कारण सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा केही महिना पहिले कोप 26 को कार्यक्रममा जाँदा नेपालमा भएको वन जङ्गलका कारण नेपालले रु ३६ अरब रोयल्टी पाएको दाबी गर्नुभयो ।

यसै गरी मन्त्री आलेले आफूले नेपाली नागरिकको हित तथा देशको हितका लागि काम गर्दै आएको र आफू जहिले पनि देश र नागरिकको हकहितका लागि काम गर्ने बताउनुभयो । नागरिक र देश भन्दा ठूलो आफ्ना लागि अन्य कुनै चिज नभएकाले देश र नागरिकको सेवाका लागि आफू ज्यान दिन पनि तयार रहेको उहाँको भनाई थियो ।

Skip This