निर्वाचनको मिति घोषणा गर्न दबाब



तनहुँ, (नेस) ।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाबस्वरूप नेकपा एमाले निकट अनेरास्ववियु तनहुँले आइतबार दमौलीमा सडक बहस गरेको छ । पाँच दलीय गठबन्धनले स्थानीय तहको मिति घोषणाका लागि आलटाल गरेको भन्दै अनेरास्ववियुले मिति तोक्न दबाब दिने उद्देश्यले सडक बहस गरेको हो ।

नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले स्थानीय तहको निर्वाचन सकिएको ६ महिनाभित्र निर्वाचन गर्न पाउने व्यवस्था कानुनमा रहेको बताउनुभयो । निर्धारित समयमै निर्वाचन गराउन सरकार बाध्यता रहेको उहाँले बताउनुभयो ।

नेपाल बार एसोसिएसन कास्कीका पूर्व अध्यक्ष कमल अर्यालले गठबन्धन सरकारले स्थानीय तहको मिति सार्ने षड्यन्त्रमा गरिरहेको बताउनुभयो । निर्वाचनसम्बन्धी ऐनमा पहिलो निर्वाचनको मिति शुरू भएको मितिबाट गणना हुने भएकाले सोही मितिलाई आधार मानेर निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘विभिन्न कारण देखाएर निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको छ, त्यसका लागि सबैले खबरदारी गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।

नेपाल बार एसोसिएसन तनहुँका पूर्व अध्यक्ष शिवदत्त ढकालले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले समयमै निर्वाचन गर्नुपर्ने बताउनुभयो । संविधान र कानुनले स्थानीय तहको समय थप गर्ने व्यवस्था नगरेकोले तोकिएको समयमा नै गर्नुपर्ने ढकालले बताउनुभयो । ‘जनप्रतिनिधि बेगरको स्थानीय तहको परिकल्पना गर्न सकिएको छैन, त्यसैले समयमै निर्वाचन हुनुपर्छ’ –उहाँले भन्नुभयो । कार्यक्रम अनेरास्ववियु तनहुँका अध्यक्ष नवीन वाग्लेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्