प्रधान सेनापति म्याराथन फागुनमा



काठमाडौं ।

सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुनमा १४ गते आयोजना हुने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन आयोजन हुने नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गरायो । प्रतियोगितामा पुरुष म्याराथन, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषको १० किलोमिटर दौड तथा उपत्यकाभित्रका सहायक रथी र सोभन्दा माथिका रथी, सैनिक श्रीमती संघका कार्यकारी पदाधिकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरूका ५ किलोमिटर दौड समावेश गरिएको छ ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुने सातौं सस्करणको पुरुषतर्फ म्याराथनका विजेता, उपविजेता र हाफ म्याराथनका विजेताले नगदसहित मोटर साइकल तथा महिला हाफ म्याराथनकी विजेताले नगदसहित पुरस्कारवापत स्कुटर प्राप्त गर्ने बताइएको छ । म्याराथनमा २ सय, हाफ म्याराथनमा २ सय ५०, १० किमीमा २ सय ५० र ५ किलोमिटरमा ४ सय ५० गरी १ हजार १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले गरिएको छ ।

म्याराथनको विजेताले ३ लाखसहित रिसिक अटोमोबाइल प्रालिले प्रायोजन गरेको यामाहा मोटरसाइलक प्राप्त गर्नेछन् । म्याराथनमै दोस्रो हुनेले २ लाख रूपियाँ र काठमाडौं महानगरपालिकाद्वारा प्रायोजन गरेको मोटरसाइकल जित्नेछन् । म्याराथनतर्फको तेस्रोले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै चौथोले ५० हजार, पाचौंले ३० हजार, छैटौंले २५ हजार, सातौंले २० हजार, आठौंले १५ हजार, नवौंले १० हजार र दशौं हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन् ।

यसै गरी हाफ म्याराथनको महिलातर्फको विजेताले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर पाउनेछन् । हाफ म्याराथनको पुरुषतर्फको विजेताले ७५ हजार र म्याटर ट्रेडिङ कम्पनीले प्रायोजन गरेको मोटरसाइकल पाउनेछन् । हाफ म्याराथनको दुवै विधातर्फ दोस्रो हुनेले ५० हजार र तेस्रोले ३५ हजार रूपियाँ प्राप्त गर्नेछन् ।
यसै गरी १० किमी सैनिक अधिकृत महिला/पुरुषको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रूपियाँ पाउनेछन् । सैनिक सहचारी महिला र पुरुषतर्फको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रूपियाँ प्राप्त गर्नेछन् ।

खुला म्याराथनको पहिलो संस्करणमा पुलिसका भूमिराज राई, दोस्रोमा एपिएफका गोपीचन्द्र पार्की र तेस्रो र चौथोमा आर्मीका कृष्ण बस्नेत, पाँचौंमा आर्मीकै होमलाल श्रेष्ठ तथा छैटौंमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्