तीन खेल संस्थाको विरोध जुलुस



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले बिहीबार विरोध जुलुस आयोजना गरेका छन् । खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै विरोध जुलुस गर्नु परेको ती तीन संस्थाका अध्यक्षले जानकारी गराए । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा जुलुस निकालिएको हो । जसमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट जुलुस निकाल्दै दशरथ रङ्गशालाको मूल गेट अगाडिसम्म विरोधको ब्यानरसहित जुलुस गरेको थियो ।

परिषद्मा लामो समयदेखि कार्यकारी रहेका सदस्य सचिवको विवादका कारण सर्वोच्चमा मुद्दा विचाराधीन रहेको छ । जसका कारण विश्वमा नेपाललाई चिनाउने खेलकुदको सम्पूर्ण गतिविधि ठप्प भएको छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बोधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्याको निराकरण गरी गाँठो फुकाउन आह्वान गरेका हुन् ।

खेलकुद ऐनमा राखेपमा सदस्य सचिव नहुँदा अथवा खाली रहेको अवस्था रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरेको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुक दर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ – कर्मचारी संघका अध्यक्ष थापाले बताए ।

परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले सरकारको निर्णयविरुद्ध दिएको रिटको सुनुवाइमा सर्वोच्च अदालतले नयाँ सदस्यसचिव नियुक्तिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । मंसीर २९ गते गरिएको आदेशसँगै त्यसपछि परिषद् नेतृत्वविहिन बनेको हो । सिलवाललाई कातिक १ गते बर्खास्त गरेर मन्त्रिपरिषद्ले मंसीर १३ गते टंक घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले तीन संस्थाको माग पूरा नभए थप विरोध कार्यक्रम ल्याउने बताए । श्रेष्ठले बताए–‘आउँदो प्रतियोगिताको तयारी गर्न सकिरहेको छैन । समाधान छिटोभन्दा छिटो हुनुपर्ने नै हाम्रो माग हो । यदि, यस्तै चलिरहने हो भने विरोधका थप कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्