ब्राजिल र अर्जेन्टिनाको जित



लन्डन, (एजेन्सी) ।

कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा स्थान पक्का गरिसकेका ब्राजिल र अर्जेन्टिनाले सानदार जित निकालेका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई तथा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेको थियो । घरेलु मैदानमा पाराग्वेलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा अझै अपराजित रहन सफल भएको छ । ब्राजिलको सानदार जितमा राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक गोल गरे । बेलो होरिजेन्टे मिनासमा भएको खेलको तेस्रो मिनेटमा नै राफिन्हाले गोल गरेपनि अफसाइड ठहरिँदा गोलले मान्यता पाएन ।

खेलको १७औं मिनेटमा भिनिसियस जुनियरको पासमा म्याथिअस कुन्हाको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा ब्राजिल अग्रता लिनबाट चुक्यो । खेलको २८औं मिनेटमा राफिन्हाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिफेन्डर मार्किन्हसको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए ।

खेलको ६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । मार्किन्हसको पासमा कौटिन्होले सुन्दर गोल गर्न सफल भए । ८६औं मिनेटमा सब्सिच्युट फरवार्ड एन्टोनीले गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए । ६१औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका एभर्टन रिवेइरोको पासमा गोल गर्न सफल भएका थिए । त्यसको दुई मिनेटमा पछि अर्को सब्सिच्युट रोड्रिगोले गोल गर्दै ब्राजिलको फराकिलो जित पक्का गरे । ८२औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका रोड्रिगोले ८८औं मिनेटमा ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भएका थिए ।

जितसँगै अपराजित रहेको ब्राजिल १५ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । ब्राजिलले १२ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित पाराग्वेको १३ अंक रहेको छ ।

त्यस्तै, अर्जेन्टिनाले पनि घरेलु मैदानमा कोलम्बियाविरुद्ध १–० को झिनो गोलअन्तरको जित निकालेको हो । अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २९औं मिनेटमा मार्कोस एकुनाको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै विश्वकपमा छनौट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ । अर्जेन्टिनासँगको हारसँगै कोलम्वियालाई विश्वकपमा छनौट हुने सम्भावना न्यून बन्दै गएको छ ।

त्यसै गरी दक्षिण अमेरिकी छनौटमा उरुग्वेले सानदार जित दर्ता गर्दे विश्वकपमा छनौट हुने सम्भावनालाई बलियो बनाएको छ । उरुग्वेले घरेलु मैदानमा भेनेजुएलालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा उरुग्वेको सानदार जितमा रोड्रिगो बेन्टानकर, जिओरजियन एरासकाइटा, इडिन्सन काभानी र लुइस सुआरेजले गोल गरे । भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काए ।

मोन्टेभिडियो उरुग्वेमा बुधबार बिहान भएको खेलको पहिलो मिनेटमा नै रोड्रिगो बेन्टानकरको गोलबाट उरुग्वेको अग्रता लिएको थियो । २३औं मिनेटमा जिओरजियन एरासकाइटाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एडिन्सन काभानीले जिओरजियन एरासकाइटाको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई ४–० ले अघि बढाए । नाहुइल फेरारेसीले पेनाल्टी बक्समा फकुन्डो पेलिस्ट्रिलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै उरुग्वेलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् ।

खेलको ६५औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काउँदै टोलीको आशा जीवितै राखे पनि त्यसपछि थप गोल निस्कन नसक्दा उरुग्वे विजयी हुन सफल भयो । यो जितसँगै उरुग्वे १६ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भेनेजुएला १० अंक रहेको छ ।

त्यस्तै, अर्को खेलमा चिलीले बोलिभियामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै विश्वकपमा छनौट हुने सम्भावना जीवितै राखेको छ । चिलीको जितमा एलेक्सिस साञ्चेजले दुई तथा मार्सेलिनो नुनेजले एक गोल गरे । बोलिभियाका मार्क इनोउम्वा र मार्सेलो मोरेनाले गोल गरे पनि हार टार्न सकेन । जितपछि चिली १६ खेलबाट १९ अंक भएको छ । पराजित बोलिभियाको १५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्