लाखेमा जोडिए प्रशान्त



ठूलो बजेटमा बन्ने भनिएको फिल्म लाखेमा अब अभिनेता, मोडल तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार पनि जोडिएका छन्। प्रशान्त लाखेमा नकरात्मक भूमिकाका लागि अनुबन्धित भएका हुन्। यसअघि सो भूमिकामा अभिनेता सुनील थापा थिए। थापाले बलिउड फिल्मका कारण लाखेमा अभिनय गर्न समय दिन नसक्ने भएपछि सो भूमिकाका लागि ताम्राकारलाई लिइएको फिल्मका निर्देशक सम्राट बस्नेतले बताए।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा ताम्राकार मुख्य खलपात्रमा अनुबन्धित भएका हुन्। ताम्राकारले आफू लाखेमा जोडिन पाउँदा खुसी लागेको बताए। ‘लाखे मल्टिस्टार कलाकारले भरिएको फिल्म हो। एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ’, ताम्राकारको भनाइ छ– ‘फिल्ममा सक्दो नयाँ र राम्रो काम गर्न कोशिस गर्नेछु।’

लाखेको हाल छायांकन कार्य भइरहेको छ। फिल्मको छायांकन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ। फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बालगायत थुप्रै कलाकारले अभिनय गरिरहेका छन्। ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा सिजन अर्यालद्वारा निर्माणाधीन तथा गणेश मल्ल ठकुरीद्वारा प्रस्तुत फिल्ममा कथा निर्माता अर्यालकै रहेको छ। फिल्मको युनिट पनि ठूलै भएकाले दुई युनिट बनाएर छायांकन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्