वेब सिरिजमा माई वाइफ इज एन एलियन



कोरोना जोखिमका कारण फिल्म निर्माण र प्रदर्शन हुन नसकेको समयमा वेब सिरिज निर्माणले राम्रो गति लिन थालेको छ। यसै क्रममा साइन्स फिक्सन वेब सिरिज माई वाइफ इज एन एलियनको निर्माण भएको छ भने सुपर हिरो सिनेमा सुपर धने निर्माण घोषणा गरिएको छ।

वेब सिरिज माई वाइफ इज एन एलियनको हालै इन्डक्ल्याप गरिएको छ। यो वेब सिरिजको ट्रेलरसमेत रिलिज गरिएको छ। नमस्ते टाकिज र सिनेमा हबको ब्यानरमा निर्माण भएको वेब सिरिज निर्मात्री तथा अभिनेत्री प्रज्ञा जोशीको प्रस्तुति तथा दिनेश श्रेष्ठको निर्माण र सुमित सिंहको निर्देशन रहेको छ। सुमित सिंह र राजन महर्जनद्वरा लिखित वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिश्ता बस्नेत, सरोज दाहाल, मनीष दोलखाली, रविना बस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंहलगायतका कलाकारका साथमा बालकलाकार प्रिया वाइबा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकले अभिनय गरेका छन्।

आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भीएफएक्स जोन राईको रहनेछ। सिरिजमा विकास चौधरीको संगीत तथा निर्देशक सिंहको कविता र गीत रचना रहेको छ। कुल पाँच भाग निर्माण गरिएको वेब सिरिज र सिनेमाको निर्माण घोषणा कार्यक्रममा अतिथि अभिनेत्री करिश्मा मानन्धर र निर्देशक घनश्याम लामिछानेले नेपालमा पहिलोपटक फरक विषयमा सिनेमा र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए।

सोही टिमको सहकार्यमा बन्ने सिनेमा सुपर धने भने अर्को वर्षको कात्तिक महिनाबाट छायांकन थालिने भएको छ। हाल स्क्रिप्ट लेखनकार्य भइरहेको निर्माण टिमले जानकारी दिएको छ। सिनेमाको छायांकन नेपाल र युरोपमा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्