क्यामरुन अफ्रिका कपको सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।

गाम्बियालाई पराजित गर्दै क्यामरुनले अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली क्यामरुनले गाम्बियालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा कार्ल टोको इकम्वी नायक बने । खेलमा भएको दुवै गोल फ्रान्सेली क्लब लियोनका फरवार्ड कार्ल टोको इकम्वीले गरेका थिए ।

उनले दोस्रो हाफमा सात मिनेटको अन्तरमा उक्त दुई गोल गरेका थिए । डोउएलामा शनिबार राति भएको खेलमा घरेलु टोलीले शुरुवातदेखि नै गाम्बियालाई दवाबमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । खेलको ५०औं मिनेटमा इकम्वीले गोल गर्दै क्यामरुनलाई शुरुवाती अग्रता दिलाए । उनले कोलिन्स फाइको पासमा गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा इकम्वीले गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे । यसपटक इकम्वीले मार्टिन होङ्लाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि, थप गोल निस्कन नसक्दा क्यामरुन विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । अब सेमिफाइनलमा क्यामरुनले इजिप्ट र मोरोक्कोबीचको विजेतासँग २ फेब्रुअरीमा खेल्नेछ ।

त्यस्तै, अर्को क्वार्टरफाइनलमा बुर्किना फासोले ट्युनिसियालाई १–० ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गर्यो । बुर्किना फासोको जितमा डंगो आउटाराले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इब्राहिमा ब्लाटी टाउरेको पासमा गोल गरेका थिए । उनी ८३औं मिनेटमा रातो कार्ड आत्मसात गर्दै मैदानबाट बाहिरिए । विपक्षी खेलाडीमाथि खराब फाउल गर्न पुगेपछि रेफ्रीले शुरुवातमा पहेलो कार्ड देखाए पनि भीएआरको सहायतामा उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइएको थियो ।

बुर्किना फासो १० खेलाडीमा समेटिए पनि आफ्नो अग्रता जोगाएर अन्तिम चारमा पुग्न सफल भयो । अब बुर्किना फासोले सेमिफाइनलमा सेनेगल र इक्वेटोरियल गिनियाबीचको विजेतासँग ३ फेब्रुअरीमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्