‘ठेकेदारले पेस्की खान्छन् काम गर्दैनन्’ 



बाजुरा ।
मार्तडी–कोल्टी सडक खण्ड अन्तरगतको बाउली खोलाको ठेक्का सदर भएर पनि अझै निर्माण कार्य शुरु  भएको छैन । उक्त खोलाको २५ मिटर लम्बाई पुल निर्माण गर्न टी.डी. आर जुगल कौशिक जेभिको नाममा गत असोजमा ठेक्का स्वीकृत भइसकेको छ । ‘ठेकदारलाई पेस्की स्वरूप पाँच प्रतिशत अर्थात् २५ लाख रुपैयाँ गत कार्तिकमै पेस्की पनि भुक्तानी गरिसकेका छौँ ।’, सडक डिभिजन कार्यालय अछामका प्रमुख राजकुमार यादवले भन्नुभयो – ‘निर्माण कार्य भने हाल सम्म शुरुवात नै भएको छैन ।’
कामका लागि खाद्यान्न कार्यक्रम अन्तरगत २०५७ सालदेखि सुरुवात भएको मार्तडी–कोल्टी ४२ किलो मिटर सडक खण्डमा पुल नबन्दा  वर्षमा तिन महिना मात्र यातायात सञ्चालन हुन्छन् । उक्त कच्ची सडक निर्माण गर्दा ३५ करोड रुपैंया वारवरको खाद्यान्न  खर्च भएको थियो । हालसम्म मार्तडी देखि ढम्कने करिब १० किलोमिटर पक्की गर्न निर्माण कार्य भइरहेता पनि पुल बन्ने सुरसार भने अझै छैन   स्थानीय लक्ष्मीराज पाध्यायले दुखेसो गर्नुभयो  ।
‘मार्तडी–कोल्टी सडक  खण्ड अन्तरगत बाउली, अनाई, चुथीखोला, नाउलेगाड, सिगारे खोला र दानसाँघु लगायतका पाँच ठाउँमा पक्की पुल निर्माण नभए सम्म बाजुरेलीको  बाह्रैमास यातायात सुविधा पाउने  सपना कहील पुरा हुँदैन ।’ जाल्पा माविका प्रधानाध्यापक बेदप्रकाश जोशीले भन्नुभयो ।
‘ठेकदारलाई  तारनतार  टेलिफोन मौखिक ताकेता गर्‍यौँ  मान्नु भएन । केही दिन अगाडी पत्राचार गरेका छौँ ।  काम गर्छु भन्छन्, गर्दैनन् ।’ कार्यालय प्रमुख यादवले भन्नुभयो ।  उक्त खण्डमा धेरै कम मात्रामा  पक्की पुलको ठेक्का  भएका छन् त्यो पनि समयमा निर्माण हुँदैनन् ।
 ‘ठेक्का सदर भएका पुलको पनि पेस्की लिने तर काम नगर्ने ठेकदार बाट अब  पेस्की रकम फिर्ता गराउँछौँ ।’, कार्यालय प्रमुख यादवले भन्नुभयो – ‘बाउली खोला पक्की पूल निर्माणका लागि चार कोरोड ९१ लाख रुपैयाँ बराबरको ठेक्का सदर भएको छ। नियमअनुसार  पेस्की लगेको पन्ध्र दिन भित्र काम शुरु गर्नुपर्छ । तर, चार महिना बितिसक्दा पनि निर्माण कार्य सुरु नगरेपछि पेस्की फिर्ता गराउँछौँ ।’ ठेकदार कम्पनीका सञ्चालक भनिएका गोकर्ण शाहले भन्नुभयो ‘कुन पत्रकारले फोन त गरेको थियो मैले भने अब बिस्तारै गर्नुपर्ला ।’
‘समय सीमा भित्र बाटो तथा पुल निर्माण नगर्दा  बाजुराका बुढिनन्दा, नगरपालिका लगायत तीनवटा गाउँ पालिका लगायत हुम्ला र  मुगु संगको   सडक सञ्जाल पनि जोडिन सकेको छैन । यातायात नियमित नहुँदा आवागमनमा अवरोध भएको छ । जुकोट, पाण्डुसैन र खत्याडी स्याउ  अनि प्रचुर मात्रमा पाइने स्थानीय सिमीले उचित बजार पाउन सकेको छैन। मौसममा स्याउ लटरम्म फल्छन् यातायात सुविधा नहुँदा  स्याउका चाना काटेर गाई भैँसीलाई  कुँडो पकाएर खुवाउन बाध्य छौँ’ जुकोटका कल्की शाहीलगायतका कृषकको दुखेसो छ ।
नेकपा समाजवादी केन्द्रीय सदस्य एवं होटेल व्यवसायी गगन रावलले भन्नुभयो ‘मार्तडी कोल्टी कोल्टी– रारा सडक सञ्जाल बाह्रैमास सञ्चालन भएमा प्रशिद्ध  धार्मिक तथा पर्यटकीय स्थल खप्तड छेडेद, बडी मालिका, पोरखेगडी ,बुढीनन्दा माताको  दर्शन गरी पादुका कर्णाली र्याप्टिङ्ग गरेर सहजपुरमा रारा घुमेर मुर्माटावरबाट सुदूर र मध्यपश्चिमलाई अवलोकन गर्न सकिन्छ । विडम्बना ! वर्षौंदेखि उक्त सडक खण्डमा एक थान पक्की पुल पनि बन्न सकेको छैन ।’
२०५१ सालमा शिलान्यास गरेको साँफे मार्तडी सडक पनि नियमित छैन । उक्त सडक खण्ड अन्तरगत बल्दे द्वारीकाँधमा वर्षेनी पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।  उक्त सडक खण्डको  ‘एलाईन्म्यान्ट’ परिवर्तन नगर्ने हो भने यात्रुले सधैँ दुःख पाइरहेने छन् ।  ‘स्वायल टेस्ट’ गर्दा उक्त सडक खण्डको स्थान परिवर्तन गर्नै पर्ने देखिन्छ । विकल्पका रुपमा बल्दे, सुर्काबजार, पिनालेख हुँदै मार्तडीको विकल्प उचित भएको इन्जिनियर डम्मप्रसाद जोशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्