मानवीय सुरक्षालाई प्राथमिकतामा राख्न प्रदेश प्रमुखको निर्देशन



बुटवल ।

कोभिड १९को तेस्रो लहरका संक्रमित बढ्दै गइरहेको अवस्थामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना नियन्त्रणमा प्रदेश सरकार र मातहतका संयन्त्रको भूमिकाको बारेमा चासो व्यक्त गर्नुभएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमै प्रदेशका मुख्यमन्त्री , मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतलाई बोलाएर कोभिडको विषयमा भइरहेका कामहरूको बारेमा जानकारी लिनुका साथ थप तयारी गर्न निर्देशन दिनुभयो ।

प्रदेश प्रमुख शेरचनले प्रदेशमा कोभिड नियन्त्रणमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो । उहाँले वर्तमान समयमा मानवीय सुरक्षालाई प्राथमिकतामा राख्न र विकास निर्माणलाई दोस्रो श्रेणीमा राख्न आह्वान गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले कोभिड नियन्त्रण र यसका जोखिम न्यूनिकरण गर्न लागि परेको बताउनुभयो । उहाँले संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार अगाडि बढेको समेत बताउनुभयो । भारतसँगको सीमा नाकामा होल्डिङ सेन्टरलाई बढाउने र निर्माण भएकाबाट काम शुरू गर्न निर्देशनसमेत दिनुभयो । प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले प्रदेशमा कोभिडको समग्र अवस्था र त्यसलाई नियन्त्रण गर्न भैरहेका काम तथा भैपरिआउन सक्ने खतरालाई व्यवस्थापन गर्ने सवालमा सरकार जिम्मेवार रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक प्रकाश अधिकारीले सीसीएमसीको बैठकले गरेको निर्णय पालना गरेपछि जोखिम कम भएको बताउनुभयो । त्यस्तै, कोभिडको तेस्रो बुस्टर डोज २९सय ७२ जान प्रहरीलाई लगाएको र यसलाई नियमित लगाइ रहेको जानकारी दिनुभयो । उहाँले नाकामा भारतबाट नेपालतर्फ प्रवेश गर्ने चालकहरूलाई एन्टिजेन चेक गर्न नसक्दा समस्या भइरहेको बताउनुभयो । पछिल्लो एक महिनाको समयमा लुम्बिनी प्रदेशमा १३ जनाको कोभिडबाटै ज्यान गएको छ ।

पत्रकारको पीसीआर परीक्षण निःशुल्क
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रूपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ । कोरोना संक्रमण जाँच र उपचार सहजरूपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौताअनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडीयू र आईसीयूका एक–एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुनेछ ।

महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालबीचमा भएको सम्झौताअनुसार सबै सेवा लिनका लागि महासंघको सिफारिस अनिवार्य चाहिने छ ।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै अस्पतालका मेसु डा. ढकालले नागरिकलाई सुसूचित गर्न फ्रन्टलाइनमा खटिने पत्रकारहरूलाई सुविधा दिनु सरकारी निकायको दायित्व भएकाले सम्झौता गरिएको बताउनुभयो । महासंघका अध्यक्ष पोखरेलले अस्पतालसँग सम्झौताले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरूको मनोबल उच्च हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्