कार्तिक नाच संरक्षणका लागि एक करोडको अक्षयकोष



ललितपुर ।

ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो । यसै क्रममा महानगरले शनिबार कात्र्तिक नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण गर्यो । महानगरले आर्थिक वर्ष २०७८/७९को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो ।

अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो । कात्र्तिक नाचको अक्षयकोष अब एक करोडको पुगेको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचको अस्तित्व संकटमा परेकाले अक्षयकोषका लागि सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अघिल्लो वर्ष मैले कात्र्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु । ’कात्र्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले ललितपुर महानगर प्रमुखले प्रतिबद्धताअनुसार अक्षयकोषका लागि रकम हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो– ‘अब आर्थिक अभावमा नाच रोकिँदैन, अब यसलाई बढाएर १० करोड बनाउँछौं ।’

ललितपुर महानगर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पदा संरक्षणमा महानगरले उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले वडा बजेटबाट कात्र्तिक नाचको अक्षयकोषका लागि १० लाख हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।

हरिसिद्धि भवानी देवी नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आर्थिक वर्ष २०७८/२०७९ मा पनि २५ लाख प्रदान गर्ने महानगरले जनाएको छ । खोकनामा देखाइने रुद्रायणी नाचका लागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ । त्यसै गरी आर्थिक वर्ष २०७८/२०७९ मा २५ लाख प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसैक्रममा महानगरले दशैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ । २४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन शुरू गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुस्किल नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्