काठमाडौं।
ऐनामा देखिने हातखुट्टा, चारैतिर झुन्डिएका माकुरा र कुनाकाप्चामा लुकेका डरलाग्दा आकृतिहरू। काठमाडौंस्थित रुसी सदनको सभाकक्ष शुक्रबार सामान्य फिल्म प्रदर्शनस्थलभन्दा फरक देखिन्थ्यो। वातावरण त्रासदीपूर्ण थियो, तर उद्देश्य भने डर फैलाउनु होइन, सिनेमामार्फत कथा, संस्कृति र सिर्जनालाई जोड्नु थियो।
यही परिवेशमा शुक्रबार, अक्टोबर ३० मा दोस्रो काठमाडौं हरर फिल्म फेस्टिभल (केएचएफएफ) सुरु भएको छ। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी र सिनेमेकर्सको आयोजनामा सुरु भएको फेस्टिभललाई लगातार दोस्रो वर्ष रुसी सदनले आफ्नो परिसर उपलब्ध गराउँदै सहयोग गरेको हो।

फिल्म डेभलपमेन्ट बोर्डका अध्यक्ष मनीष पण्डितको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर तथा रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभा, नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक, नेपालस्थित जापानी दूतावासका उपप्रमुख यासुहारु सिन्तो, पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमद तथा फेस्टिभल निर्देशक राशिक पाठक सहभागी थिए।

अतिथिहरूले परम्परागत दीप प्रज्वलन गरेर फेस्टिभल उद्घाटन गरे। सभाकक्षको बत्ती निभाएर फेरि दीपको उज्यालो फैलाइएको क्षणले अँध्यारो र उज्यालोबीचको प्रतीकात्मक सम्बन्धलाई जीवन्त बनायो। त्यसपछि पियानोवादक सार्थक मानन्धरले रुसी संगीतकार त्चाइकोभ्स्की र इगोर कोर्नेल्युकका रचना प्रस्तुत गरे। नेपाली लाखे नाचले उद्घाटन समारोहमा स्थानीय सांस्कृतिक रङ थप्यो।
रुसी सदनकी निर्देशक खोख्लोभाले फेस्टिभललाई निरन्तरता दिन भूमिका खेल्ने आयोजक, स्वयंसेवक र रुसी सदनका कर्मचारीलाई धन्यवाद दिँदै यसलाई नेपालको फिल्म क्षेत्रमा विशिष्ट महत्त्व बोकेको आयोजनाका रूपमा चित्रण गरिन्। रुसी सदन र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीबीचको सहकार्य हरर फिल्म फेस्टिभलमा मात्र सीमित छैन। एकेडेमीले लामो समयदेखि नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजनामा प्रमुख भूमिका खेल्दै आएको छ। यस वर्ष रुसी सदन उक्त महोत्सवको आधिकारिक प्रदर्शनस्थलमध्ये एक बनेको छ।

फिल्ममार्फत अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयासलाई अर्को उपलब्धिले पनि उत्साहित बनाएको छ। रुसी संस्था रोस्किनोले आयोजना गरेको ‘सिनेमा एज अ टुल अगेन्स्ट फ्युचर शक’ शीर्षकको अन्तर्राष्ट्रिय फिल्म पिचिङमा दर्जनौँ विदेशी सहभागीमध्ये नेपाल र इरानका प्रतिनिधि मात्र अन्तिम चरणमा छनोट भएका छन्।
‘क्रिएटिङ द फ्युचर’ नामक तेस्रो अन्तर्राष्ट्रिय सिम्पोजियमअन्तर्गत हुने पिचिङमा युवा सर्जकले भविष्यमा आधारित फिल्म तथा सिरिजका परियोजना विशेषज्ञ निर्णायकसमक्ष प्रस्तुत गर्छन्। यसको अन्तिम चरण नोभेम्बर १२ मा रुसको ‘रसिया’ राष्ट्रिय केन्द्रमा आयोजना हुँदै छ। नेपाली प्रतिनिधिले सिम्पोजियमको अन्तिम चरणमा सहभागी हुने अवसर पाएका छन्। रुसी सदनले नेपाली सर्जक र उनको टोलीलाई रुस पठाएर फिल्म निर्माणसम्बन्धी अनुभव आदानप्रदान तथा सहकार्य विस्तार गर्ने आशा व्यक्त गरेको छ।

यस वर्षको फेस्टिभलमा २१ देशका २६ फिल्म प्रदर्शन हुँदै छन्। आठवटा फिचर फिल्म र १८ वटा छोटा फिल्म समेटिएको छनोटले विभिन्न देशका कथा, भयका स्वरूप र सिनेमाई दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएको छ। प्रतियोगितामा रुसबाट म्याक्सिम चेबोटारेभ निर्देशित छोटो फिल्म ‘ए.एल.आई.सी.ई.’ सहभागी छ। त्यस्तै, सर्गेई क्लियान्ट्स निर्देशित ‘द विन्ड’ पनि प्रदर्शन हुँदै छ। रुसी सिनेमाका प्रतिष्ठित पुरस्कारमध्ये एक प्राप्त गरेको यो फिल्मका कार्यकारी निर्माता अलेक्जान्डर ओस्त्रोभेरख-क्वान्चियानी उद्घाटन समारोहमा सहभागी हुन रुसबाट काठमाडौं आएका छन्।
हरर विधाभन्दा बाहिरको दार्शनिक नाटकका रूपमा रहेको ‘द विन्ड’ अक्टोबर ३१ मा बिहान १० बजे रुसी सदनमा प्रदर्शन गरिनेछ। नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको फिल्म निःशुल्क हेर्न सकिनेछ। प्रदर्शनअघि कार्यकारी निर्माता ओस्त्रोभेरख-क्वान्चियानीले फिल्मबारे दर्शकलाई परिचय दिने कार्यक्रम छ।

फेस्टिभलको उद्घाटन फिल्म भने लेबनान, फ्रान्स, कतार र साउदी अरबको सहकार्यमा बनेको ‘इन दिस डार्कनेस आई सी यु’ हो। नादिम ताबेत निर्देशित फिल्मले सिरियाली द्वन्द्वको पृष्ठभूमिमा देश छाडेर भागेका एक युवा सैनिक तारिकको कथा भन्छ। लेबनानको एउटा गाउँनजिक निर्माणस्थलमा काम पाएका तारिकको जीवनमा क्रमशः अनौठा घटना हुन थाल्छन्। भूतप्रेतको कथाजस्तो लाग्ने फिल्मले वास्तवमा लेबनान र सिरियाबीचको जटिल सम्बन्ध तथा विगतका दबिएका घाउलाई खोतल्छ। निर्देशक ताबेतका अनुसार, अँध्यारो विषयवस्तुमा आधारित भए पनि फिल्म मूलतः प्रेमकथा हो।
डर, रहस्य र अलौकिक घटनालाई पर्दामा उतार्ने हरर सिनेमाले मनोरञ्जन मात्र दिँदैन; कहिलेकाहीँ समाजका दबिएका भय, इतिहासका घाउ र मानवीय सम्बन्धका जटिल पक्षसमेत उजागर गर्छ। काठमाडौंमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभलले विभिन्न देशका यस्तै कथा र दृष्टिकोणलाई नेपाली दर्शकमाझ ल्याउने अवसर प्रदान गरेको छ। रुसी सदनले नेपालका युवा फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्न तथा उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्न नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया