गोतामे घाटमा पुल बन्ने



पाल्पा, (नेस) ।

पाल्पाका दुई गाउँपालिकाहरू माथागढी र रम्भा जोड्ने अगाह खोलाको गोतामे घाटमा पुल बन्ने भएको छ । दुई गाउँपालिका जोड्ने गोतामे घाटमा ट्रस पुल निर्माणको लागिस्थलगत सर्वे गरिएको र पुल यस आर्थिक वर्षभित्रै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । हाल सर्वे गरिएको ठाउँमा काठेपुल रहेकाले सो काठेपुल जीर्ण बन्दै गएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । काठेपुलका कारण आवतजावतमा समस्या रहेको र स्थानीयले वर्षातको समयमा आवातजावत गर्दा जोखिम भएको गुनासो गर्दै आएका थिए ।

यही समस्यालाई मध्यनजर गरी पुल निर्माण गर्न लागिएको र पुल निर्माणपछि स्थानीयले सुविस्ता पाउने गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणपश्चात् त्यस क्षेत्रका अधिकांशले वर्षात् र अन्य समयमा पनि जोखिम पूर्ण यात्रा गर्नुपर्ने छैन ।

पुल निर्माण कार्यका लागि माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, इन्जिनियर सन्देश कार्की र सब इन्जिनियर तिलक श्रेष्ठलगायतको टोलीले स्थलगत सर्वे गरेका थिए । उक्त पुल यस आर्थिक वर्षमा नै सम्पन्न गर्ने योजनाको रूपमा रहेको जानकारी इन्जिनियर सन्देश कार्कीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्