नेपालमा अब सहज र सुपथ ट्याक्सी सेवाका लागि ‘ई-क्याब’



न्युज अफ नेपाल, काठमाडौं ।

ई–क्याब नेपालले ट्याक्सी सेवा सञ्चालन गर्न ‘ई–क्याब’ एप सञ्चालनमा ल्याएको छ। नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा उपलब्ध गराउन एप लञ्च गरेको कम्पनीले दाबी गरेको छ।

ई–क्याबले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको उपस्थितिमा राजधानीमा एक कार्यक्रम गरी आफ्नो सेवा सुरु गरेको जानकारी गराएको हो। कम्पनीका अनुसार सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगद भुक्तानी गरेर ई–क्याबको सेवा उपभोग गर्न सक्नेछन्।

एप प्रयोगकर्ताले आफ्नो लागि मात्रै नभई आफन्त र साथीभाइको लागि पनि सवारी बुकिङ गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। इन्टरनेटको पहुँच नभएको खण्डमा कम्पनीको कल सेन्टरमा फोन गरेर पनि सेवाग्राहीले सेवा उपभोग गर्न सक्ने बताइएको छ। साथै विदेशबाट पनि उक्त एप बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार पासवर्डरहित यो एप प्रयोगका लागि दुई तहको भेरिफिकेसन निर्धारण गरिएको छ। सुरक्षाका लागि यात्रुले चालकसँग यात्रा सुरु गर्नुअघि राइड भेरिफिकेसन कोड निश्चित गर्नु पर्नेछ। साथै यात्राको क्रममा आफू कहाँ छु भन्ने कुराको आफन्त र साथीहरुले एसएमएस वा इमेलबाट अपडेट पाइरहने कम्पनीको भनाइ छ।

चालकको सम्पूर्ण कानुनी तथा सवारी सम्बन्धी कागजातको अभिलेख ई–क्याबसँग रहने हुँदा सुरक्षित तबरले यात्रा गर्न सकिने पनि कम्पनीले जानकारी गराएको छ।

यस्तै ई–क्याबले आफ्ना प्रयोगकर्तालाई विभिन्न पुरस्कारको पनि व्यवस्था हुने जनाएको छ। ई–क्याबका रिटेल पार्टनरहरु तथा हस्पिटालिटी सेन्टरमा छुटको समेत व्यवस्था गरिने कम्पनीको अफर छ। ई–क्याबमा आवद्ध हुन चाहने ट्याक्सी चालकहरुले यो एप आफ्नो स्मार्ट फोनमा डाउनलोड गरेर सवारी दर्ता गर्न सक्नेछन्। एपमा दर्ता भएका चालकसँग कम्पनीले थोरै मात्रै कमिशन लिने ई–क्याबक दाबी छ। चालकले कमाएको रकम दैनिक रुपमा डिजिटल माध्यमबाट पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्