‘तपाईँको मास्क खै ?’



अमृत अर्याल , स्याङ्जा । 

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेका बेला स्याङ्जामा ‘तपाईँको मास्क खै ?’ अभियान सुरु गरिएको छ । जिल्लामा ओमिक्रोनको प्रकोप बढेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै जिल्ला कोभीड व्यावस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना र पत्रकार समेतको टोलीले संयुक्तरुपमा ‘तपाईँको मास्क खै ?’ अभियान सुरु गरेको हो ।

अभियानको पहिलो दिन शुक्रबार जिल्लाको सदरमुकाम पुतली बजार नगरपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा सचेतना सहित स्थानीयलाई मास्क वितरण गरिएको थियो ।  जनचेतना अभियानमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए ।

यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ ।

अभियानका क्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, वाणिज्य संघमा आवद्ध प्रतिनिधिले अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए । अभियानकर्मीले ‘तपाईँको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए ।

‘तपाईँहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ अभियानको क्रममा प्रतिअ पौडेलले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौँ भनेका हौँ ।’  अहिले स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामूलक कार्यक्रम थालिएको प्रतिअ पौडेलले बताए ।

अभियानमा सहभागीले ‘तपाईँको मास्क खै?, मास्कको नियमित प्रयोग गरौँ, भौतिक दुरी कायम गरौँ-गराऔँ, भिडभाड नगरौँ, भीडमाडमा नजाऔँ, अनावश्यक हिँडडुल नगरौँ’ लगायतका सन्देश दिएका थिए । जनचेतना अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिअ पौडेलले बताए ।

अभियानको क्रममा मास्कको प्रयोग विना व्यापार व्यवसाय गरिरहेका ७० जनालाई जरिवाना गरिएको छ । आजै मात्र ३ हजार भन्दा बढी मास्क वितरण गरिएको तथा ५ हजार भन्दा बढीलाई मास्कको उचित प्रयोग सम्बन्धी सचेत गराइएको प्रतिअ पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्