सेभियाले हरायो गेटाफेलाई



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा सेभियाले गेटाफेलाई हराएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । सेभियाको कठिन जितमा राफा मिर नायक बने । प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औं मिनेटमा लुकास ओकम्पोसको पासमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ६६ प्रतिशत बल पोसेसन राखेको सेभिया पहिलो हाफमा गोल गरेपछि रक्षात्मक देखिएको थियो । घरेलु टोलीलाई दबाब दिए पनि गेटाफेको गोल फर्काउने प्रयास सफल भएन । निर्णायक गोल गरेका सेभियाका राफा मिर ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले २० खेलबाट ४४ अंक बनाएको छ । पराजित गेटाफेको १८ अंक छ ।

आइतबार राति नै भएको अर्को खेलमा रियल बेटिस रायो भालेकानोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । ३३औं मिनेटमै एलेक्स मोरेनो रातो कार्ड पाउँदै बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो । तर, पनि पहिलो हाफको इन्जुरी समयमा सर्जिओ कानालेसले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । ७०औं मिनेटमा रायो भालेकानोका इभान बालिउले गोल गर्दै खेललाई बरबरीमा ल्याएका थिए । बराबरीसँगै रायो भालेकानोको ३१ अंक बनाएको छ ।

अर्को खेलमा एट्लेटिको मेड्रिड भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकियो । १० खेलाडीमा समेटिएको एट्लेटिकोले शुरुवाती अग्रता लिएर पनि अंक बाँड्न बाध्य बन्यो । एट्लेटिकोका लागि एन्जल कोर्रियाले १०औं र नियोफ्री कोन्डोगवियाले ६७औं मिनेटमा गोल गरे । भिल्ला रियलका पाउ टोरेसले २९औं र अल्बर्टो मोरेनोले ५८औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा नियोफ्री कोन्डोगबिया दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै एट्लेटिकोको ३३ अंक छ । भिल्ला रियलको भने २९ अंक छ । अर्को खेलमा ओसासुनाले काडिजलाई २–० गोलले हराउँदा अलाभेस र एथ्लेटिक बिल्बाओले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्