वीरगन्ज नाकामा दिनहुँ १३ जना भन्दा बढी संक्रमित भेटिदै



कृष्णउदास खनाल, वीरगन्ज । 

वीरगन्ज नाकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इनरुवा स्थित शंकराचार्य प्रवेशद्वार नजिक सञ्चालित हेल्थ डेस्कमा शनिवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट प्रवेश गर्ने ३ सय जनाको एन्टिजेन परिक्षण गर्दा ती मध्ये १३ जनामा कोरोना संक्रमण भेटिएको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोले जानकारी दिनुभयो ।  संक्रमण पुष्टि भएका १३ जना मध्ये ९ जना नेपाली र ४ जना भारतीय रहेका छन् । ती मध्ये ३ जना भने वीरगन्ज महानगरपालिका वासीन्दा रहेको डाक्टर महत्तोले बताउनुभयो । यसअघि शुक्रवार नाकाको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

पुष ९ गते यता नाकाको हेल्थ डेस्कमा ४६ जनामा संक्रमण पुष्टि भएको डाक्टर महत्तोले बताउनुभयो । नाकामा संक्रमण भेटिएका मध्ये भारतीयहरुलाइ सीमावर्ती रक्सौलको प्रहरीसँग समन्वय गरी भारत तर्फ नै फिर्ता पठाउने गरिएको छ भने नेपाली संक्रमितहरुलाइ भने आइसोलेसनमा बस्ने गरी सम्बन्धित पालिकासँग समन्वय गरी गाडी रिजर्भ गरी पठाउने गरिएको हेल्थ डेस्क इन्चार्ज डाक्टर महत्तोले बताउनुभयो ।

यसैबिच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकाहरुमा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक डेढ लाखको हाराहारीमा संक्रमित भेटिन थालेपछि त्यसको असर पर्सा सहित प्रदेश २ का आठ वटै जिल्लाहरुमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् ।

भारतसंग खुल्ला सीमा जोडिएका वीरगन्ज सहित प्रत्येक नाकामा हेल्पथ डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

प्रदेश–२ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ । ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्