पुँजीगत खर्च कम हुँदा विकास निर्माणमा ढिलाई भयो : अर्थमन्त्री शर्मा 



बुद्ध नेपाली , सिन्धुली ।

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणको काम प्रभावित भएको बताउनुभएको छ । शुक्रवार देखि सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा सुरु भएको तेस्रो मरिण महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पुँजीगत तर्फको बजेट खर्च कम हुँदा विकास निर्माणको काम ढिला भएको बताउनुभएको हो ।

अहिले सम्म चालु आर्थिक वर्षको कुल बजेटको ३४ प्रतिशत बजेट खर्च भएको तर पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री शर्माले बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बजेट खर्च नभएको होइन । सरकारको ३४ प्रतिशत बजेट खर्च भएको छ । समग्रमा पुँजीगत खर्च मात्रै कम भएको हो । ३, ४ खर्बको पुँजीगत खर्च छ । त्यो मध्ये ९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । पुँजीगत खर्च कम हुँदा विकास निर्माणमा ढिला सुस्ती भएको छ ।’

पुँजीगत खर्च कम हुँदा आर्थिक तरलतामा समेत असर परेको भन्दै अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन सरकारले ताकेता गरिएको बताउनुभयो । कोभिड १९ संक्रमण पछि व्यापारीहरूले बढी आयात गरेको तर निर्यात कम हुँदा पनि अर्थव्यवस्थामा प्रभाव पारेको अर्थमन्त्री शर्माले बताउनुभयो ।

अर्थमन्त्री शर्माले स्थानियस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गर्ने गरी उत्पादन र श्रमसँग सबै जोडिएमा कोही पनि विदेश जानुपर्नेमा जोड दिनुभयो । स्वरोजगार बन्नका लागि कृषि नै नेपालको लागि उत्तम क्षेत्र भएकाले स्थानीय सरकारहरूले युवाहरूलाई कृषि पेसामा आकर्षण गर्ने नीति र योजना ल्याउन अर्थमन्त्री शर्माले आग्रह गर्नुभयो । अर्थमन्त्री शर्माले समूह, सहकारी बनाएर आधुनिक प्रणालीको कृषि उत्पादनमा लाग्दै नेपालमै स्वरोजगार बन्न तर्फ लाग्न किसानहरूलाई आग्रह गर्नुभयो ।

‘यही स्वरोजगार हुने, सम्पन्न हुने स्रोत साधन हामीसँग प्रशस्तै छ । श्रम हामीसँग छ । सरकारले सहुलियत ऋणको व्यवस्था गरेको छ । त्यस कारण हामी विदेश जानु पर्दैन । रोजगारी सिर्जना गर्न रोजगारी ल्याएर खल्तीमा हाल्दिने होइन । सरकारले नीति ल्याउने हो । त्यो नीतिलाई प्रयोग गरेर युवाहरूले उत्पादन र श्रममा लाग्न सक्नुपर्छ ।’

अर्थमन्त्री शर्माले भने । अर्थमन्त्री शर्माले देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सुनकोसी – मरिण डाईभर्सन आयोजना निर्माणका लागि बिहीबार २० अर्ब थप बजेट स्वीकृत गरेको जानकारी दिनुभयो ।

‘सुनकोसी – मरिण डाईभर्सन आयोजना छिटो निर्माण सम्पन्न गर्न पैसाको अभाव हुन नदिन थप बजेट स्वीकृत गरेको छु । बजेट सिँचाई मन्त्रालयमा पठाइ सकिएको छ । अहिले सुरुङ निर्माणको काम प्रारम्भ भएको छ । अब सबै काम सुरु हुनेछ ।’अर्थमन्त्रीले भन्नुभयो ।

सुनकोसी – मरिण डाईभर्सन आयोजना निर्माण सम्पन्न भएपछि सिन्धुलीको मरिण क्षेत्र हुँदै समग्र तराईमा कृषिजन्य उत्पादनमा वृद्धि भई देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्री शर्माले बताउनुभयो । अर्थमन्त्री शर्माले नेकपा९माओवादी केन्द्र०को ८ औं महाधिवेशनमा समाजवाद उन्मुख समाज निर्माणका लागि उत्पादन र श्रममा जोडिनु पर्नेमा व्यापक छलफल र बहस भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्