मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

यो वर्षको सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान पुरस्कार मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई प्रदान गरिएको छ । नेपाल व्यावसायिक कलाकार संघको २७ औं स्थापना दिवस तथा राष्ट्रिय अरनिको स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले उक्त पुरस्कार मूर्तिकार मैनालीलाई हस्तान्तर गर्नुभएको हो । पुरस्कारको राशी २५ हजार रुपियाँ रहेको छ ।

त्यसैगरी यो वर्षको क्रोध कला शिरोमणि पुरस्कार मूर्तिकार बालकृष्ण तुलाधरलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ । त्यस्तै १५ हजार रुपियाँ राशीको मूल्मि ग्राफिक डिजाइन पुरस्कार राजेश मानन्धरलाई प्रदान गरिएको छ ।

कार्यक्रममा हेम–गंगा युवा कला प्रतिभा पुरस्कार कलाकार सपना पौडेल, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार कलाकार चन्दा श्रेष्ठ, अमात्य कला पुरस्कार कलाकार सविता डंगोल, क्यान सिग्देल आर्ट पुरस्कार स्व।गोविन्द खड्कालाई मरणोपरान्त, निर्वाण कला सम्मान मोफसलका कलाकार आलोक गुरुङ र ज्ञानी शाह क्यान अमूर्त कला सम्मान स्व। पुरन खड्कालाई मरणोपरान्त प्रदान गरिएको थियो ।

ती सबै पुरस्कारको राशी जनही १० हजार रुपियाँको रहेको छ । कार्यक्रममा जनही ५ हजार रुपियाँको क्यान आइडियल कला पुरस्कार कलाकार दिपेन्द्रमान बनेपाली र बालकृष्ण स्मृति कला पुरस्कार कलाकार विनोदकुमार गुप्तालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मिथिला लोक कलाका कलाकार प्राज्ञ एस।सी। सुमन, व्यावसायिक कलाकारहरू श्याम रञ्जित, राजकुमार प्रधान, विश्वराज सिग्देल र हरिनारायण ठाकुरलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले मुुलुकलाई विश्वमा चिनाउने कलाकार तथा सर्जकहरूको सम्मान गर्ने दायित्व राष्ट्रकै भएको जिकिर गर्दै उक्त दायित्वलाई नेपाल व्यावसायिक कलाकार संघले बोध गरी कलाकारहरूलाई पुरस्कृत तथा सम्मान गरी हौसला जगाउने काम गरेको भन्दै संघको प्रशंसा गर्नुभयो ।

कलाकार र कलाकारिताको संरक्षण गर्नु सरकारको कर्तव्य भएको संविधानमै उल्लेख भएता पनि सरकार यसमा चुकेको भन्दै मन्त्री श्रेष्ठले सरकारलाई उक्त कर्तव्य पालन गराउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले संघलाई अझै विस्तार गरी महासंघ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्रतिष्ठानसँग बाँकी रहेको ९ रोपनी ५ आना जग्गामा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउने योजनाअनुरुप नक्सांकनको कार्य भइरहेको जानकारी दिँदै उक्त योजना सफल बनाउन सबैसँग सहयोगको अपिल पनि गर्नुभयो । साथै उहाँले चीनमा नेपाली कलाकारितालाई स्थापित गर्दै नेपाललाई विश्वमै चिनाउन सफल कलाकार अरनिकोको पूर्ण कदको प्रतिमा बनाउने प्रतिष्ठानको योजना कोषको अभावले पूरा हुन नसकेको भन्दै दुःख प्रकट गर्नुभयो ।

कार्यक्रमका संयोजक प्रेम श्रेष्ठले व्यावसायिक कलाकारहरूको संरक्षण र सम्बद्र्धनमा विगत २७ वर्षदेखि अनवरत् संघर्षरत् संघको सम्पर्क कार्यालयका लागि प्रतिष्ठानभित्र स्थान उपलब्ध गराइदिन कूलपति कर्माचार्यसँग आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्