पनौतीको तेजगंगामा निःशुल्क स्वास्थ्य शिविर, ९६ जना लाभान्वित



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याब, रुबी आई केयर पनौती र  गोरखनाथ डेन्टल केयर पनौतीको प्राविधिक सहयोगमा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत तेजगंगा बहुमुखी क्याम्पस पनौती नगरपालिका वडा नम्बर ८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

क्याम्पसमा गठन भएको स्वास्थ्य उप समिति र युवा रेडक्रस सर्कलको आयोजनामा भएको एक दिने शिविरमा क्याम्समा अध्ययन गर्ने ९६ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । शिविरमा नाक, कान घाँटी, दाँत, रगत समूह जाँच र आँखाको परीक्षण गरिएको थियो ।

शिविरका लागि कम्युनिटी वेलनेस सेन्टर बनेपाका म्यानेजिङ डाइरेक्टर दिपेश ताम्राकार, नाक, कान घाँटी विशेषज्ञ डा।समीर कर्माचार्य, विशेषज्ञ डा. अनुराग श्रेष्ठ, डा. मनीषा रोकाया, फिजियोथेरापिस्ट युवाराज प्रसाद शर्मा हुमागाईँ, मेडिकल ल्याब असिस्टेन्ट रजिना हुमागाईँ, रुबी भ्याली आई केयरका म्यानेजिङ डाइरेक्टर रमेश श्रेष्ठ, स्वास्थ्यकर्मीहरू अमित कुमार, मनीषा श्रेष्ठ, गोरखनाथ डेन्टलका म्यानेजिङ डाइरेक्टर सागर हुमागाईँ, डेन्टल असिस्टेन्ट अमृता मगर लगायतका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा उपलब्ध गराउनु भएको थियो ।

तेजगंगा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले शिविर आयोजना गरी सोही क्षेत्रका नागरिकहरुको स्वास्थ्य प्रति चासो राखिदिएकोमा सहयोगी संस्थाहरूलाई धन्यवाद र आभार व्यक्त गर्नु भएको थियो । गम्भीर प्रकृतिका विद्यार्थीहरूलाई परामर्श सहित अन्यत्र उपचारका लागि रिफर गरिएको छ ।

शिविरमा ९६ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । विद्यार्थी स्वास्थ्य कार्यक्रम मार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त संस्थाहरुले विभिन्न विद्यालयमा निःशुल्क शिविर आयोजनाका लागि सहयोग गरिरहेका छन् । परीक्षण गरिएका मध्ये १२ नाक, कान घाँटी परीक्षण गरिएको थियो भने ५३ जनाको सामान्य परीक्षण र फिजियो सेवा उपलब्ध गराइएको थियो ।

२२ जनाको दाँतको परीक्षण र ८० जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये केही विद्यार्थीहरूमा सामान्य समस्या देखिएकाले समयमै उपचार गराउन रिफर गरिएको छ ।

यस अघि कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याब, रुबी आई केयर पनौती र सुप्रिम डेन्टल केयर बनेपाको प्राविधिक सहयोगमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाई र रोशी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको थियो ।

काभ्रे ईगलिस माध्यमिक विद्यालय पनौतीमा पनि निःशुल्क शिविरको आयोजना गरिएको थियो  भने त्यस्तै कम्युनिटी वेलनेस सेन्टर बनेपाले नेशनल बाथरोग सेन्टरसँगको सहकार्यमा बनेपा नगरपालिका वडा नम्बर ७ मा ९२ जना ब्यक्तिहरुको बाथरोग सँग सम्वन्धित रहेर तथ्याङ्क संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्