टाइम्स र रोयल सेमिफाइनलमा



काठमाडौं ।

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली अन्तिम चारमा पुगेका हुन् । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे । टाइम्सले चारै क्वार्टरमा अग्रता लिने क्रममा क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्यो । त्यस्तै अजय कुसवाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो । पहिलो क्वार्टरमा २१–६ को अग्रता बनाएको रोयल दोश्रोमा १८–२१ ले पछि पर्यो । रोयलले तेश्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि अन्तिम चारको यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । दोश्रो क्वार्टर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२–११, तेश्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्यो । अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित रच्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे ।

पहिलो क्वार्टरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै आरामदायी जित आत्मासात् गर्यो । गोल्डेनगेटले दोश्रो क्वार्टर २०–१२, तेश्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्यो । लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्नेछ । यही खेलले सेमिफाइनल समीकरण तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्