बुद्ध युथलाई त्रिवेणी कप



लमजुङ ।

बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडार लमजुङले २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बेसीशहरको सहजी खेलमैदानमा भएको फाइनल खेलमा गत संस्करणको विजेता टिम श्री भगवती युथ क्लब टोखा काठमाडौंलाई २–० ले पराजित गरेर बुद्ध युथले उपाधि जितेको हो । टिमलाई जित दिलाउन सन्दीप रानामगरले १३औं मिनेटमा गोल गरे भने यानिक अब्दुल्लाहले १५औं मिनेटमा थप गोल गरे । दुई मिनेटमा लगातार भएको दुई गोलले नै बुद्ध युथलाई उपाधि दिलाउन पर्याप्त भयो ।

उपाधि जितेको बुद्ध युथले पहिलो पुरस्कार ५ लाख र उपविजेता टिम श्री भगवती युथले ३ लाख नगद प्राप्त गरे । सेमिफाइनलमा पराजित दुई त्रिवेणी र समाज कल्याणले समान ५०/५० हजार नगद हासिल गरेका थिए । सर्वाधिक गोलकर्तातर्फ बुद्ध युथका फाकुल्ने अबायोमी र श्री भगवतीका आर्मान्ड बीडोमले संयुक्तरूपमा घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार रकम १५ हजार नगद रहेको छ ।

फाइनल खेलका उत्कृष्ट घोषित भएका बुद्ध युथका सन्दीप रानाले ५ हजार नगद प्राप्त गरेका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी श्री भगवतीका अमित लामा घोषित भए । उनले १५ हजार नगद पुरस्कार हात पारेका थिए । यस्तै, फेयरप्ले टिम सर्लाहीको बागमती एफसी घोषित भएको थियो । पुस १३ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा लमजुङ, काठमाडौं, पोखरा, चितवन र तनहुँलगायत जिल्ला गरी १८ टिमको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्