अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई विद्यालयमै खाना



चिरञ्जीवी मास्के , दोलखा । 

विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउने लक्ष्य सहित दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर १ ताम्चेत दुधपोखरीमा रहेको कल्लाबारी माध्यमिक विद्यालयले अतिरिक्त कक्षा सुरु गरेको छ ।

कोभिडका कारण विद्यार्थीहरूको पढाई प्रभावित भएपछि एसइई परीक्षाको तयारीको लागि कक्षा ९ र १० का विद्यार्थीहरूको लागि विद्यालयले अतिरिक्त कक्षाको व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङले बताउनु भयो । अतिरिक्त कक्षामा सहभागी हुन कतिपय विद्यार्थीहरू टाढाबाट आउने भएकोले विद्यालयमै बिहानको खाना व्यवस्था गरिएको प्रधानाध्यापक घिसिङले बताउनु भयो ।
विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षामा ७० भन्दा बढी विद्यार्थी सहभागी हुने गरेका छन् । त्यसमा १५ जना विद्यार्थी रामेछाप दोरम्वाका विद्यार्थीहरू समेत रहेको प्रधानाध्यापक घिसिङले बताउनु भयो ।

अतिरिक्त कक्षामा सहभागी कक्षा १० को विद्यार्थी अस्मिता तामाङ विद्यालय रहेकै वडामा घर भए पनि आफू दुर्गम ठाउँको भएकोले अतिरिक्त कक्षामा सहभागी हुँदा विद्यालयमै खाना खाने गरेको बताउनु हुन्छ । विद्यालयको यो व्यवस्थाले हामी जस्ता टाढाको विद्यार्थीहरिलाई निक्कै सहज भएको छ अस्मिताले भनिन् – विद्यालयले खानाको व्यवस्था नगरेको भए हामीले अतिरिक्त कक्षा लिने अवस्था हुँदैन थियो ।

अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यालयलाई भार नपरोस् भनेर तिहुन तथा तरकारी विद्यार्थीहरुलेनै ल्याउने गरेको अस्मिताको भनाई छ । रामेछापको दोरम्बाबाट अतिरिक्त कक्षामा सहभागी युवराज तामाङ पनि विद्यालयको यो व्यवस्थाले आफूहरूलाई अध्ययनमा सहज भएको बताउनु हुन्छ । अतिरिक्त कक्षाले कोरोनाको कारण आफूहरूको पढाइमा पुगेको असरलाई कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको तामाङ बताउनु हुन्छ ।

विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीहरूलाई तातो तातो खाना खुवाएर बिहान ९ बजेबाट कक्षामा सहभागी गराउने गरेको छ । अतिरिक्त कक्षामा अंग्रेजी, गणित र विज्ञानको पढाई हुने गरेको प्रधानाध्यापक घिसिङले बताउनु भयो ।

विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीहरूलाई दाल, भात र तरकारीको व्यवस्था गरेको छ । यसको लागि विद्यालयले प्रति विद्यार्थी ४० रुपैयाँसम्म खर्च गरेको प्रधानाध्यापक घिसिङले बताउनु भयो । कतिपय विद्यार्थीहरूले तरकारी भने आफै ल्याउने गरेको घिसिङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्