चेल्सी र लिभरपुलले अंक बाँड्यो



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब लिभरपुलले बराबरी खेल्दै समान अंक बाँडेका छन् । घरेलु मैदानमा चेल्सीले २–० ले पछि परेको स्थितिमा लिभरपुललाई २–२ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य बनाएको हो । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गर्दा घरेलु टोलीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले बराबरी गोल फर्काए । सबै चार गोल पहिलो हाफमा नै सम्भव भएको थियो । खेलको शुरुवातदेखि नै घरेलु टोली चेल्सीले लिभरपुललाई दबाबमा राखे पनि लिभरपुलले खेलमा अग्रता लिन सफल भएको थियो ।

खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । डिफेन्डर ट्रिमभोअ चलोवाहको गल्तीमा मानेले भेटेको बललाई जाली चुमाउँदा गोललाइनमा थियागो सिल्भाले बचाउन सकेन । त्यस्तै, खेलको १९औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोलरक्षक यडुआर्ड मेन्डीलाई बिट गर्दै सहज गोल गर्न सफल भएका थिए ।

अर्कोतिर, ४२औं मिनेटमा माटियो कोभासिसले सुन्दर गोल गर्दै चेल्सीलाई खेलमा फर्कने संकेत दिए । अलन्सोको फ्रिकिक लाई लिभरपुलका गोलरक्षक काओइहिन केल्लेहेरले पञ्च गरेको बललाई पेनाल्टी डी–बक्सबाहिरको भली प्रहार टप राइट कर्नरमा गोल हुँदा गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुलिसिसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । एंगोलो कान्टेको चलाखीपूर्ण पासलाई पुलिसिसल नियन्त्रणमा लिँदै सुन्दर गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीलाई गोलका अवसरहरु सिर्जना भए पनि सदुपयोग हुन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीसँगै चेल्सी २१ खेलबाट ४३ अंक जोडेको छ । चेल्सी भन्दा एक खेल कम खेलेको लिभरपुलको भने ४२ अंक रहेको छ । आइतबारै राति नै भएका अन्य खेलमा ब्रेन्टफर्डलाई एस्टन भिल्लाले २–१ ले तथा एभर्टनलाई ब्राइटनले ३–२ ले हराउँदा लिड्सविरुद्ध बर्नले ३–१ ले विजयी बन्यो ।

प्रतिक्रिया दिनुहोस्