नवौं राष्ट्रिय खेलकुदको कामै छैन : मन्त्री गुरुङ



पोखरा ।

हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरूको पहिलो लक्ष्य भनेकै राष्ट्रियस्तरको खेल खेल्ने हुन्छ । राष्ट्रियस्तरको खेल खेलेपश्चात् मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा हरेक राष्ट्रले विभिन्न प्रतियोगिता गर्ने गर्दछन् । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्नका लागि राज्यले नै राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गर्दै आउँछन् ।

नेपालमा पनि राष्ट्रिय खेलकुद हुँदै आएको छ । प्रत्येक २–२ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आइरहेको छ । खेलाडीले २ वर्षसम्म निरन्तर राष्ट्रिय खेलकुद खेल्नकै लागि मिहेनत गरिहेको हुन्छ । राष्ट्रिय खेलकुद गर्न पाउनु नै ठूलो कुरा हो । देश संघीयतामा गइसकेपछि पहिलोपटक गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सौभाग्य प्राप्त गरेको छ । गण्डकी प्रदेशको इतिहासमा यो आयोजना गर्न लागेको दोस्रोपटक हो । यस अघि दोस्रो संस्करणको वि.सं.२०४० सालमा पोखरामा आयोजना गरिएको थियो ।

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अघिल्लो वर्ष गर्ने तय भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको हो । नवौ गण्डकी प्रदेशमा हुने भएपछि स्थानीय प्रदेशका खेलाडी, पदाधिकारी, खेलसंघदेखि मुख्यमन्त्री तथा मन्त्रीहरूले गौरवको कुरा भनिरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले भने नवौं राष्ट्रिय खेलकुद काम नलाग्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले एकातिर खेलाडीलाई सम्मान गर्नुभयो भने अर्कातिर खेलाडीलाई निराशा पार्ने अभिव्यक्ति दिनुभयो ।

बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा स्वर्ण विजेता नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालयले सम्मान गरेको छ । सोही कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा गर्नुभएको हो । मन्त्री गुरुङले यस अघि पनि पटक–पटक उक्त प्रतिक्रिया राख्दै आउनुभएको थियो । ‘यो नवौँ नवौं भनिरहेको छ के छ यो नवौंमा ? हामीलाई केही मतलबै छैन । खासमा यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कामै छैन’ उहाँले भन्नुभयो, ‘के खेलाडीलाई आलु खुवाएर खेलाउने हो र ? बजेट हुन परेन ?’

नवौंका लागि केन्द्र सरकारले नै बजेटको व्यवस्था गर्छ । प्रदेश सरकारले त्यसमा हातेमाले गर्ने मात्रै हो । मन्त्री गुरुङले समग्र खेलकुदमाथि नै लात हान्ने काम गर्न खोजेको स्पष्ट देखिएको छ । हरेक प्रशिक्षक र खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कयौं खुडकिलाहरू पार गर्दै आइरहेको हुन्छन् । त्यसका लागि आफ्नै कथा आफ्नै व्यथा हुन्छन् ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भने मन्त्रीको कुराले निकै निराशा बनाएको सुनाउनुभयो । उहाँले हरेक खेलाडीको सपना नै टुट्ने जवाफ पाउँदा निराशा भएको सुनाउनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पनि नवौं राष्ट्रिय खेलकुद आफैंमा गौरवको विषय भएको बताउनुभयो ।

चार खेलाडी सम्मानित
हालै बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रलजोन भलिबल प्रतियोगिताको विजेता टोलीका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालय गण्डकीले नगदसहित सम्मान गरेको छ ।

प्रदेश खेलकुद मन्त्रालयले टोलीकी कप्तान म्याग्दीकी अरुणा शाही, तनहुँकी उषा भण्डारी, बागलुङकी सोफिया पुन र नवलपुरकी शान्ति कुमारी थारूलाई नगद ५०/५० हजार रुपियाँ र सम्मान पत्रले सम्मान गरेको हो । यी चारैजना खेलाडी गण्डकी प्रदेशका हुन् ।

प्रतिक्रिया दिनुहोस्