ज्ञानेन्द्र पनि बन्द प्रशिक्षणमा



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेर केही दिनपछि फुकुवा भएपछि ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । क्यानले आगामी फेबु्रवरीमा ओमानमा हुने आईसीसी टी २० विश्वकप ग्लोबल छनोटको लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

क्यानले गत मंसिर २९ गते ज्ञानेन्द्रलाई कप्तानबाट हटाइएको थियो र साथै उपकप्तान दीपेन्द्रसिं ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि कारबाहीमा परेका थिए । यी चारै खेलाडीले क्यानविरुद्ध मिडियामा बोलेको भन्दै कारबाहीमा पर्नुपरेको थियो । क्यानले टिमको कप्तानमा सन्दीप लामिछानेको नाम पनि सार्वजनिक गरेको थियो ।

पुस १८ गते आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र क्यानका केही पदाधिकारी, ज्ञानेन्द्रका साथमा प्रशिक्षक पुबुदु दासनायकेबीच भएको छलफलले सहमति भएको हो । योसँगै क्रिकेटमा सम्भावित ठूलो दुर्घटना हुन टरियो । ज्ञानेन्द्रसहित केही खेलाडीले क्यानको खेलाडी वर्गीकरणको विषयमा असहमति जनाएर विरोध गरेका थिए । यही विषयलाई लिएर क्यानले ती खेलाडीलाई कारबाही गरेको थियो ।

सन्दीपको कप्तानी भने नछिने बताइएको छ । हाल सन्दीप अस्ट्रेलियामा बिग बाश टी–२० क्रिकेटमा खेलिरहेका छन् । उनी होबार्टबाट खेलिरहेका छन् । विश्वकप ग्लोबल टी–२० क्रिकेट छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले आयरल्यान्ड, ओमान, यूएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले अस्टे«लियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्