हिमालयन शेर्पाको तेस्रो जित



काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले तेस्रो जित निकालेको छ । सोमबार सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले सातदोबाटो युवा क्लबलाई १–० ले हराएको हो । टिमलाई जित दिलाउन विश्वास श्रेष्ठले निर्णायक गोल गरे । दशरथ रंगशालामा भएको उक्त खेलमा ४४औं मिनेटमा प्राप्त पेनाल्टीले नै हिमालयन शेर्पालाई जित दिलाउन पर्याप्त भयो । सातदोबाटोका पिटर सेगुनले हिमालयनका त्रिदेव गुरुङलाई आफ्नै डी–बक्समा लडाएपछि हिमालयनको लागि पेनाल्टीको अवसर जुटेको हो ।

सातदोबाटोको लागि अन्तिममा इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बराबरीमा पुग्ने अवसर जुटेको थियो । तर, मार्टिन एडेल्फेले गरेको प्रहारलाई हिमालयनका गोलकिपर दीप कार्कीले सहजै बचाए । यो दुर्भाग्यसँगै सातदोबाटोले हार बेहोर्न बाध्य भएको हो । ‘ए’ डिभिजनको नवप्रवेशी टिम सातदोबाटोको यो जारी लिगमा तेस्रो हार हो ।

यो नतिजापछि हिमालयन शेर्पाको ७ खेलबाट ११ अंक भएको छ । साथै, एनआरटी र थ्रीस्टारलाई पछि पार्दै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लिएको छ । सातदोबाटोको ७ खेलबाट ८ अंक रहेको छ । सातदोबाटो आठौं स्थानमा रहेको छ । सातदोबाटो टिम गत सिजनमा बी डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिएको थियो ।

ललितपुरको टिम सातदोबाटोको जारी लिगमा शुरुवात राम्रो भएको हो । तर, पछिल्लो खेलमा भने टिमको प्रदर्शन निराशाजनक भएको छ । सातदोबाटोले छैटो चरणको खेलमा जावलाखेलसँग पराजय बेहोरेको थियो । यसअघि, भने सातदोबाटोले थ्रीस्टार र एपीएफलाई हराएको थियो । यस्तै नवप्रवेशी टिमले अनुभवी विभागीय टिम त्रिभुवन आर्मीलाई बराबरीमा समेत रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्