टिजरमा चिसो एस्ट्रे



काठमाडौं सहरलाई चिसो एस्ट्रेका रूपमा विम्बित गर्दै तयार पारिएको फिल्म चिसो एस्ट्रेको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा भन्ने प्रयास गरेको छ।

आगामी चैत ४ गते रिलिज हुने फिल्म दिन्श पाल्पालीले निर्देशन गरेका छन्। उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन्। ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित छ’ दिन्श भन्छन्। दिन्शले यसअघि बालकृष्ण सम : अनटोल्ड स्टोरी निर्देशन गरेका थिए। जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीनलगायतका देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो। निर्देशक दिन्शले कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौंलाई चिसो एस्ट्रेको विम्बको रूपमा प्रस्तुत गरेको र फिल्म उनको सोही विम्बबाट प्रभावित भएको पनि बताए।

‘त्यसैले, फिल्म पनि सकभर पोइन्टिक हिसाबले नै बनाउन खोजेका छौं’ उनले भने। उनले फिल्मले पाश्चात्य फिल्मले युवामा पार्ने प्रभावलाई पनि कथ्यमा समेटेको बताए।
फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ, सृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा महेशबाबु तिमल्सिनाको प्रस्तुति तथा महेश बाबु, प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीद्वारा निर्मित फिल्मको सह–निर्मातामा रूपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन्। फिल्ममा लेखन, निर्देशन र गीत दिन्शको रहेको छ भने संगीत अजर जंगम, छायांकन उज्जल बस्ताकोटी, सम्पादन उज्ज्वल ढकालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्