गुरु नानक मठ परिसरको व्यवसायिक टहरा निर्माण कार्य तत्काल बन्द गर्न माग 



न्युज अफ नेपाल, काठमाडौं ।

लाजु १६ नयाँ बजार विष्णुमती स्थित गुरु नानक मठ परिसरको जग्गा व्यवसायिक प्रयोजनको लागि अनधिकृत भवन निर्माण गरेको भन्दै स्थानीयले त्यस कार्यलाई तत्काल बन्द गर्न माग गरेको छ ।

मठ परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्थानीय तथा सरोकारवालाहरूले मठ, मन्दिर, धार्मिक स्थलमा व्यवसायिक प्रयोजनका लागि भवन निर्माण गर्दा मठ मन्दिर तथा पुरातात्त्विक महत्त्वका स्थल नष्ट र धार्मिक सम्पदामाथि आक्रमण भएको भन्दै टहरा निर्माण कार्य बन्द तथा संरचना भत्काउन माग गरेको हो ।

मठ संरक्षण तथा भवन निर्माण कार्य बन्द गर्न माग गर्दै स्थानीयले कामपा १६ वडा कार्यालय, काठमाडौं महानगरपालिका, गुठी संस्थान, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलाई पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएकोप्रति आक्रोश पोख्दै संरचना निर्माण कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

जनप्रतिनिधि, म्हैपी युवा क्लब तथा स्थानीय सरोकारवालाले मठ तथा मठ परिसर संरक्षण अभियान नै चलाएको छ । अभियानमा कामपा १६ को वडा सदस्य जीवन मानन्धरले धार्मिक क्षेत्र तथा वन परिसरमा व्यवसायिक टहरा निर्माण गर्नु धार्मिक क्षेत्रमाथिको आक्रमण भएको बताए ।

मन्दिर परिसरमा वर्कसप तथा ग्रिल उद्योग सञ्चालन गर्दा वातावरणीय प्रदूषण हुने र चराचुरुङ्गीको वासस्थानमा समेत प्रभाव पार्ने बताए । उनले स्थानीयको विरोधपछि नगर प्रहरीले काम रोक्न दबाब दिँदा समेत अटेर गरी केही राजनीतिक दलको आडमा रातारात काम गरेको आरोप लगाए ।

त्यस्तै म्हैपी युवा क्लबका अध्यक्ष नवीन राजभण्डारीले मठ परिसर संरक्षण गर्दै  पार्क तथा बगैँचा निर्माणका लागि अनुरोध गर्दागर्दै मठ प्रशासकले व्यवसायिक भवन निर्माणका लागि सम्झौता गर्नु नाजायज  भएको बताए । त्यस्तै गुरु नानकका अनुयायी रवि सिंहले धार्मिक तथा पुरातात्त्विक महत्त्व राख्ने मठ परिसरमा व्यवसायीक भवन बन्नु विडम्बनाको विषय भएको बताए ।

गुरु नानक मठका महन्त नेमुनी उदासी र गुठी संस्थानको मिले मतोमा कामपा म्हैपी २६ बस्ने व्यवसायी हेमराज श्रेष्ठलाई व्यवसायिक प्रयोजनको लागि मासिक रु।२५ हजारमा भाडा लिने गरी  जग्गा भाडामा दिने सम्झौता गरिएको छ । भवनमा १० वटा सटर र माथि तला निकालिएको छ ।

मठको संरक्षण गर्नुको साटो स्वंम मठका महन्तले व्यक्तिगत फाइदाको लागि मठको जग्गा व्यवसायिक प्रयोजनको निम्ति भाडामा लगाउनु सार्वजनिक सम्पत्तिको दुरुपयोग र अपराध पनि हो । यस्ता कार्य तत्काल बन्द नगरे एक दिन गुठी र मठ तथा मन्दिरको अस्तित्व नै समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्