धुलिखेलमा फिटनेस एण्ड क्यालिसथेनिक्स सेन्टर 

188
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

स्वस्थ सहर बनाउने अभियानमा धुलिखेल नगरपालिकाले उपलब्ध गराएको खुल्ला स्थानमा धुलिखेल अस्पताल र जिल्ला प्रहरी कार्यालयको सहयोगमा प्रोजेक्ट टेम्पलले सेभेन्थ साइट धुलिखेलले शुभारम्भ गरेको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिसथेनिक्सले गरेको उक्त अभियान नेपालका ९ वटा जिल्लाको १५ स्थानमा शुरु हुनेछ ।

धुलिखेलमा शुभारम्भ भएको सातौँ हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्नु भएको थियो । १४ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूका लागि प्रशिक्षण तथा प्रयोगात्मक अभ्यासका लागि उक्त सेन्टर महत्त्वपूर्ण हुनेछ ।

व्यक्तिलाई स्वास्थ्य मार्फत आत्म अनुशासन कायम राख्न उक्त व्यायाम अभ्यासले सहज बनाउनेछ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल स्वस्थ सहर बनाउने अभियान अन्त्रगतको उक्त कार्यक्रमले थप सहजता प्रदान गर्ने बताउनु भयो ।

नगरपालिकाले यस्ता सेन्टरहरू अन्य वडामा विस्तार गर्न आवश्यक सहयोग गर्ने भएकाले सहजिकरणका लागि नगर प्रमुख ब्याञ्जुले अनुरोध गर्नु भयो । मर्निङ्ग वाक जानेहरूका लागि खुल्ला जिम सेन्टर तथा व्यायाम सेन्टरले सहज हुने उहाँको भनाई थियो ।

धुलिखेल अस्पतालले १ लाख ५० हजार र जिल्ला प्रहरी कार्यालय काभ्रेले ५० हजार सहयोग गरी दुई लाख रुपैयाँमा निर्माण भएको उक्त व्यायाम सेन्टरले विशेष गरी युवाहरूका लागि नियमित व्यायाम गर्न सहज बनाउनेछ । उक्त अभियानका तर्फबाट दैनि क र साप्ताहिक रूपमा व्यायामका कक्षाहरू सञ्चालन हुनेछन् ।

व्यायाम कक्षामा सिकेका कुरालाई व्यवहारमा अभ्यास गर्न उक्त सेन्टर आवश्यक रहेको अध्यक्ष सुकदेव कार्कीले बताउनु भयो । उहाँका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, पोखरा, चितवन, विराटनगर, सुर्खेत, नेपालगञ्ज र रुपन्देहीका १५ स्थानमा यस्ता व्यायाम सेन्टर खुलिसकेको अध्यक्ष कार्कीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउन उक्त अभियानले शुरु गरेको ब्यायाम केन्द्र महत्त्वपूर्ण भएकाले प्रहरी कार्यालयको तर्फबाट सहयोग उपलब्ध गराएको बताउनु भयो । सेन्टरमा पुलअफ, चिनअप, डिपवार, सिटअप लगायतका अभ्यासका लागि सहज हुनेछ ।