पुष माघको चिसोबाट बच्न सरकारको पहल आवश्यक



हरेक हिउँदमा काठमाडौंमा अत्यधिक जाडो हुने गर्दछ, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेशमा मान्छे नै मर्ने खालको चिसो हुने गरेको छ । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको विजोग अवस्था भएको बन्ने गरेका छ ।

पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लामा बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित बन्ने देखिन्छ । चिसो बढेसँगै देशभरका अस्पताल स्वास्थ्य चौकीहरूमा बिरामीको चाप पनि बढ्ने गरेको छ । चिसोसँगै भाइरलज्वरोको प्रकोप अझै बढ्ने सम्भावना रहन्छ । सम्पन्न व्यक्तिहरूभन्दा विपन्न वर्गमा शीतलहर र भाइरलज्वरोको प्रकोपले पिरोल्छ । पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म रेकर्ड पुग्छ । त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्ने गरेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा विद्यालयहरू जाडोको कारण बन्द नै हुने गरेका छन् ।

तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरूको बर्सेनि चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको बढेका समाचारहरू आइरहेका छन् ।

चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरूलाई सताउँछ । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउनु पर्दछ । पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहित शीतलहर परेका कारण जनजीवन अत्यन्त कष्टकर बन्न थालेको छ । तराईमा फुसको छानामा बस्नेहरूको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ । महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन् ।

उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी देखिन्छ ।

तराईका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । समस्या झनै बढेर गएको छ । यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन्, गरिब र विपन्न जनता । केही दिनयता चिसो ह्वात्तै बढेको छ । तत्काचिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन । सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ । चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ । त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ । नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिओस् ।

चिसोबाट जोगिन धूवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोलपदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ ।

यसका अतिरिक्त धूलो, धूवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । सबै नागरिक सचेत बनेर पुष र माघलाई कसरी सकुसल धकेल्ने भन्ने विषयमै केन्द्रत हुनुपर्ने भएको छ । बिरामी र केटाकेटीका लागि कालकै रूप भएर चिसो आएको छ । चिसो र हुस्सुबाट जोगिएर खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ ।

– मनिषा पौडेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्