कोरोना फैलाउने कांग्रेस महाधिवेशन !



राजधानीमा शुक्रबारबाट कांग्रेसको महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रमको उद्घाटनपछि महाधिवेशनको प्रारम्भ भएको हो । महाधिवेशनमा हजारौंको उपस्थिति देखिएको छ । राजनीतिक दलका शीर्ष नेता, कार्यकर्तादेखि लिएर नागरिकहरुसमेत महाधिवेशनमा सहभागी हुन पुगेका थिए ।

हजारौंको भीडमा कसैले पनि कोरोनालाई प्राथमिकतामा राखेको देखिएन । अधिकांशले मास्क नै लगाएका थिएनन् । भौतिक दूरीको पालना त कल्पनाबाहिरको कुरा भयो । भीड देखेर कोरोना नै तर्सिएजस्तो देखिन्थ्यो । कोभिडको नयाँ भेरिएन्टले विश्वलाई नै चिन्ताजनक बनाएको बेला नेपाली दलहरु महाधिवेशनको नाममा भीडलाई बढावा दिँदै हिँडेका छन् ।

महाधिवेशनमा भाग लिन आएका कसैले पनि कोभिडलाई ध्यानमा राखेको देखिएन । सबैजना निस्फिक्री डुलिरहेका थिए । मञ्चमा गएर बोल्नेदेखि सुन्नेले समेत कोभिडको जोखिमलाई बेवास्ता गरेको देखियो । कोरोना शुरु भएसँगै हात नमिलाऔं भनेर जनचेतना फैलाउँदै आएको छ । तर कार्यक्रममा अतिथिको रुपमा पुगेकाहरुलाई हात मिलाउन र टाँसिनको हतारो थियो । एउटा साधारण मास्कसमेत कसैले लगाएनन् । विपक्षी दलका नेताहरुद्वारा पनि कोरोना फैलाउने काम भयो । सबै आए हुँदो न खाँदोको भाषण दिए तर मास्कको कुरा कसैले पनि निकालेनन् ।

कोभिडको जोखिमबारे बोल्न कोही पनि तयार भएनन् । मुलुकमा कोरोना नै मासिसके जसरी नेताहरुले भाषण गरे । कार्यकर्ताले पनि केही कुराको ख्याल नै नगरी भाषण सुने । यिनीहरुले त्यहाँ उपस्थिति भएको आम नागरिकलाई कोरोना सार्ने महत्वपूर्ण काम गरेको प्रस्टै देखियो ।

कोरोना झनै शक्तिशाली रुप देखाइरहेको बेला सरकारलाई भीड गर्न नै हतार भइरहेको छ । अहिले नेपाली कांग्रेसकै सरकार चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै कार्यकर्ता भेला गरेर कोरोना फैलाउने काम गरिरहेका छन् ।

कार्यक्रममा आएका कांग्रेसका कार्यकर्ताहरुले आफ्नो समर्थक पार्टीको भाषण सुनेर ताली पड्काए । हाम्रो पार्टी यति शक्तिशाली छ भन्दै त्यत्रो मान्छे भेला गरेका छन् । आफ्नो पक्षको पार्टीलाई चुनाव जिताउनको लागि मास्क नै नलगाई भोट माग्दै हिँडेका छन् । कोरोना केही होइन भनेर निस्फिक्री डुलिरहेका छन् । महाधिवेशनमा भेडाबाख्राझैँ सर्वसाधारणहरुको सहभागिता थियो । तर त्यस भीडमा सचेतना फैलाउने कोही पनि थिएनन् । यसरी खुलंखुल्ला दौडिँदा कोरोनालाई बढावा दिएको देखिन्छ ।

यो भन्दा अघि एमाले र राप्रपाले आफ्नो महाधिवेशन सम्पन्न गर्यो । त्यहाँ पनि त्यस्तै चर्को भीड थियो । तापनि नेपाली कांग्रेसले यसबाट केही पनि सिको गरेन । जनता मर्छन्, राष्ट्रलाई अप्ठ्यारो पर्छ भनेर सोच्दै नसोची कांग्रेसले भेडाबाख्रा कोचेझैँ मान्छे कोचेर महाधिवेशनको आरम्भ गर्यो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि विभिन्न पार्टीका अध्यक्षले आएर भाषण दिएका थिए । उनीहरुले ठूल्ठूला भाषण ठोके र जनताले पनि त्यसको राम्रोसँग मूल्याङ्कन गरेका छन् । एउटा वडाध्यक्ष हुने क्षमता नभएका कसरी पार्टीको अध्यक्ष बने भनेर जनतालाई शंका लागिरहेको छ ।

जनतालाई झुक्याउने र एक–अर्कोलाई घोच्नबाहेक यिनीहरुलाई केही आउँदैन । चिडियाखानामा लगेर राख्नेजस्ता झगडालुहरुले देश चलाउने चाबी पाएका छन् । यस्ताले पनि देश विकास गर्न सक्लान् ? आश्वासन दिनबाहेक अरु केही नै आउँदैन ।

हिजो एकजोर चप्पल लाउन नसक्ने, उधारो खाएर हिँड्ने नेताहरुको सम्पत्ति अहिले कति छ भन्ने लेखाजोखा गरिएको छैन । यिनीहरुले देश र जनताको लागि राजनीति गरेका हुन् भनेर सोच्नु नै भ्रम हो । घर, गाडी र विलासिता जीवन जिउनको लागि यिनीहरुले राजनीतिको थालनी गरेको हो । राजनीतिक दलका नेता सबै भ्रष्टाचारी हुन् । भ्रष्टाचार गर्नमा यिनीहरुको मनोबल बढाउने हामी नेपाली जनता नै हौँ । यस्ता दलाल पुँजीवादी सिद्धान्त बोकेका पार्टीको झोला बोक्छौ, कार्यकर्ता बन्छौ । अनि हाम्रो देश नबिग्रेर कसको बिग्रिएला ?
सबभन्दा सजिलो र पैसा कमाउने पेसा भनेकै राजनीति हो । निर्वाचन आयोगमा गएर एउटा पार्टी दर्ता गर्ने, चन्दा उठाउने अनि पदमा बसेर भ्रष्टाचार गर्ने । जनताको सेवामा हामी समर्पित छौँ भदै आफ्ना तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । सरकारी जागिरदेखि लिएर हाकिममा आफ्नै आफन्तजन छिराएका छन् । यिनीहरुले सोच्न सक्ने र गर्न सक्ने यति नै हो । जनतालाई भाषण र दुःख दिनबाहेक यिनीहरुसँग केही क्षमता छैन । देशविकास गर्न ऋण खोज्दै जनताको टाउको ल्याएर थुपारेका छन् । अझै कोरोना फैलाएर सीधासाधा जनता मार्न खोज्दै छन् ।

देशविकास गर्न पुग्नेजति रकम त राजनीतिक दलको घरजग्गा र सरकारी कर्मचारीको गाडी र पेट्रोलमा सिद्धिएको छ । यदि देश विकास नै गर्ने हो भने राजनीतिक दलको सम्पत्ति सबैभन्दा पहिले छानबिन हुनुपर्छ ।

प्रधानमन्त्री आफ्नो कार्यकर्ता भेला गरेर कोरोना फैलाउँदै हिँडेका छन् । स्वास्थ्यमन्त्री कुनै पनि हालतमा लकडाउन गर्दिन भन्छन् । गृह मन्त्रालयलाई केही पनि मतलब छैन । स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यवसायीलाई कानुनको दायरामा ल्याउने गृहमन्त्रीसँग आँट छैन । अहिले अधिकांशले मास्क लगाउन छोडिसकेका छन् । कोरोनाको जोखिमबारे कोही पनि गम्भीर भएका छैनन् । स्वास्थ्यमन्त्रीको भनाइ र प्रधानमन्त्रीको गराइ एउटै छ । जनताको मतलब दुवैमा छैन । स्वास्थ्यमन्त्रीलाई कहाँबाट कमिसन आँउछ भनेर दाउपेच छोपेर बसेका छन् ।
प्रधानमन्त्रीलाई चुनाव जित्ने हो कि होइन भन्ने चिन्ताले पिरोलिरहेको छ, जनताको बारेमा सोच्दिने कोही पनि छैन । अब पनि सरकारले ख्यालख्याल गर्ने हो भने यसको जिम्मेवार पनि सरकार आफैँ हुनुपर्छ । जनताको बाँच्ने अधिकारमाथि पूर्णविराम लगाउन सरकार जोडदारसाथ लागिपरेको छ ।

मरे पनि जनता मर्ने हो हामी होइन भन्ने सोचाइले हामी आम नागरिक मारमा परेको छौँ । अहिले कांग्रैसको महाधिवेशनमा कार्यकर्ता बनेर आएका सबै जनता हुन् । कार्यकर्ता त उनीहरु धेरैपछि मात्र भएका हुन् । हुलमूल कम गराउन, जनचेतना फैलाउनमा उपत्यकाका सिडियोहरुको केही योगदान रहेन । उपत्यकाका सिडियोहरुसमेत मौन बसे । जनताले तिरेको करबाट तलब खाने र घाम ताप्ने कामबाहेक केही पनि भएन । सरकारको कमी–कमजोरीले जनता मर्नुपर्ने स्थिति बनेको छ ।

सनम बस्नेत, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्