सामुदायिक विकास तथा विश्वशान्ति पत्रकारिता पुरस्कार देवानलाई



न्युज अफ नेपाल, काठमाडौं ।

सामुदायिक विकास तथा विश्वशान्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान–२०२० बाट ‘सपरिवार’ नामक मासिक पत्रिकाका पत्रकार नन्दकुमार देवान सम्मानित हुनुभएको छ । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उहाँलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सामुदायिक विकास तथा वातावरण क्षेत्रमा करिब दुई दशक कलम चलाए बापत सम्मान गर्नाका साथै मेडल समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोस जाँगर भर्ने बताउनुभयो । सो विधाको पुरस्कार पाउने देवानको जन्म १९ फेब्रुअरी १९८७ मा छिमेकी मुलुक भारतको पूवी असम गोलघात जिल्लाहरुको पनि गाउँ पञ्चायत अन्तर्गत चन्दनपुर गाउँमा माता चन्द्रमायाँ देवान र पिता गणेश कुमार देवानको कनिष्ठ पुत्रको रुपमा भएको थियो ।

पारम्भिक पढाइ गाउँमै गरेका देवानले सिक्किम मणिपाल युनिभर्सिटी बाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरी सिक्किम राष्ट्रिय विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयको मास्टर्स अघि बढाउन नपाएतापनि आज उहाँ पत्रकारितामा कम्युनिष्ट डेभलपमेन्टका विषयमा समेत निरन्तर काम गर्दै आउनुभएको छ ।

देवान पत्रकार मात्रै नभएर एक कुशल नेताका साथै विषय वक्ता समेत हुनुहुन्छ । विगतदेखि सामुदायिक विकास पत्रकारिता क्षेत्रमा देवानको योगदान अतिनै रहेको छ । सो पुरस्कारका लागि गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरिवार’ बाट उनी ‘टप १० गोर्खा अफ असम’ मा परेका थिए ।

मात्रै २२ वर्षको उमेरमा उपलब्धि हासिल गरेका देवानलाई सन् २००९ मा आसामको राजधानी गौहाटी प्रेस क्लबको मानार्थ एसोसिएट सदस्यता दिइएको थियो । देवानलाई भारतको पश्चिम बंगालको कालिम्पोङमा ‘राष्ट्रिय उमरते पत्रकार २००९’ प्रदान गरिएको थियो भने सन् २०१० मा ‘गान्तोकमा सिक्किम प्रेस क्लब’ द्धारा पनि सम्मान गरिएको थियो ।

कालिपोङ प्रेस क्लबले देवानलाई उनीहरुको वार्षिक कार्यशालामा स्रोत व्यक्तिको रुपमा आमन्त्रित गरेको थियो भने सामुदायिक पत्रकारितामा उनको योगदानको लागि मानार्थ सदस्यताले सम्मानित समेत गरेको थियो । देवान सो को अलवा नन्द किराती देवान जनसञ्चार तथा पत्रकारिता मा १५ वर्ष लामो क्यारियरका अधिकारी पनि हुन् ।

देवानले आफ्नो पत्रकारिताको करियर ‘युवि न्यूज एण्ड फोटोज गुवाहाटीको समाचार एजेन्सी २००६’ मा फोटो पत्रकार सह सामग्री सम्पादकको रुपमा शुरु गरेका थिए । हाल देवान आसाम टाइम्स अनलाइन सामुदायिक समाचार पोर्टलको सहयोगी सम्पादकको रुपमा कार्यारत छन् भने देश अनि विदेशको सञ्चार माध्यममा पनि समाचार प्रेशन गर्दै आइरहेका छन् ।

देवानले पत्रकारितको करियरको शुरुवातदेखिनै सामुदायिक विकासका विषयहरु र अन्तर्राष्ट्रिय सम्बन्धहरुमा केन्द्रीत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संस्थाहरुमा योगदान दिएका छन् । अनलाइन समाचार साईटहरुको आगमनमा देवाले ‘द दार्जिलिङ टाइम्स’, ‘हिमालयन बीकन’, ‘कलिम न्यूज,’ ‘द गोरखा टाइम्स,’ ‘द सिक्किम टाइम्स’का लागि नियमित रुपमा योगदान गरेका जनाइएको छ ।

देवानका समाचारहरु नेपाली भाषाका दैनिक पत्रिका ‘हिमालय दर्पण’ अनि ‘हाम्रो प्रजाशक्ति’ र मासिक पत्रिका ‘इस्टन प्यानोर’मा तथा ‘द नर्थ इस्ट टुडे’  र ‘दार्जलिङ टाइम्स’ आदिमा पनि प्रकाशित छन् । देवानले नेपाली अनि बंगलादेश र भुटानका पत्रपत्रिकाका लागि पनि स्टिङगरका रुपमा योगदान गरेका थिए ।

देवानले हाल गोर्खा समुदायका विद्यार्थी तथा युवा संगठन र नागरिक समाज संगठनसँग अनि भारतीय गोर्खा परिसंघ, भारतको गोर्खाहरुको राष्ट्रिय सामाजिक संस्थाको युवा इकाई भारतीय गोर्खा युवा परिसंघको राष्ट्रिय अध्यक्षको दायित्व पनि निर्वाह गरेका सुनाइएको छ ।

देवान सहित सो पुरस्कार अमेरिका अनि जर्मन तथा क्यूबा र फ्रान्स आदि देशका पत्रकारहरुले समेत पाइसकेका कार्यक्रममा बताइएको थियो ।आजको कार्यक्रममा दलित महिला तथा विकास केन्द्रका अध्यक्ष रुपलाल राम अनि हाप्कीडो खेलको क्षेत्रबाट मुलुकलाई अघि बढाउने भुवनबुढा मगर तथा सामाजिक क्षेत्रमा सक्रिय रहेर आर्थिक विकासमा योगदान पु¥याउने व्यक्तित्व इन्द्रभुषण सिंहका नाममा उहाँका छोरा गौरबकुमार सिंहलाई भने कदरपत्र मात्रै प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अमेरिका–नेपाल प्रेस क्लब नेपालका संयोजक ईश्वरराज ढकालले सो सम्मानका साथै कदरपत्ररले मुलुकका पत्रकारलाई समेत पत्रकारिता गर्न अझै जोस अनि जाँगर बढाउने भनाइ राख्नुभयो । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मुलुक समृद्धिका लागि कलम चलाउने पत्रकारमा समाज दिशानिर्देश गर्ने भूमिका रहने आँैल्याउनुभयो ।

नेपाल डाइबिटीक सोसाइटीका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले पत्रकारिता मार्फत विश्वशान्त्तिका लागि केही गर्छु भनेर लाग्ने व्यक्ति सम्मानित हुँदा आफूहरु समेतमा गौरवान्वीत महसुसको भान भइरहेको बताउनुभयो । कार्यक्रममा आज करिब दुई दशक अघिदेखि भारतको असम प्रान्तमा जन्मिएर कमल चलाउँदै आएका देवानले सामुदायिक विकास क्षेत्रमा समाचार लेख्न दक्षिण एशियामा भने भरखरै शुरुआत भएको जानकारी गराउँदै विश्वका अन्य मुलुकमा धेरै पहिला विकास भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक पत्रकारले लेखेको समाचारको महत्व जब समुदायका मानिसमा बिक्छ तवमात्रै यसको नतिजा झल्कन्छ ।”

सो कार्यक्रममा राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्य अनि नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौँपाने लगायतका केही व्यक्तिको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्