आठ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल


काठमाडौँ । 

सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ।

विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि सारेको हो। यस प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ।

काठमाडौंमा हिजोदेखि सुरु भएको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी हुनुहुन्छ। नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।

यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुनेछ। यसले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने छ। नेपालले सन् १९८२ र २०११ पछि तेस्रोपटक विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।