अख्तरको नेपाल आगमन: नयाँ पुस्ताका लागि प्रेरणाको नव अध्याय

0
Shares

हावामा लहरिने लामा कालो कपाल, मैदानमा आगोको ज्वाला झैँ हुत्तिएर आउँदै गरेको शरीर र हातबाट उम्किएर ब्याटरतर्फ हुइँकिएको चट्टान जस्तो कठोर बल । कुनै कट छैन, कुनै स्लो मोसन छैन, केवल बिजुलीभन्दा पनि तिब्र गति । त्यो डरलाग्दो दृश्य देख्दा विश्वका ठूलाठूला हस्ती ब्याटरहरूको पनि मुटुको ढुकढुकी केही क्षणका लागि रोकिन्थ्यो, आत्मविश्वास पल भरमै डगमगाउँथ्यो । जब उनी क्रिजतिर दौडिँदै बल फ्याँक्थे, तब ब्याट्सम्यानका लागि विकेट जोगाउनुभन्दा ठूलो चुनौती आफ्नै शरीर र ज्यान जोगाउनु बन्थ्यो । उनका ती डरलाग्दा, छातीसम्म उचालिने तीव्र बाउन्सरहरूले मैदानमा कयौँ विश्वस्तरीय ब्याटरलाई गम्भीर घाइते बनाए, त कयौँको क्रिकेट खेल्ने मनोबल सधैँका लागि तोडिदिए । उनको बलिङको त्यो भयावह गति र आक्रामकता देखेर मैदानमा उभिने अनुभवी अम्पायरहरू समेत एकैक्षण झस्किएर पछि हट्न बाध्य हुन्थ्ये ।

यो एउटा वास्तविकता हो, विश्व क्रिकेटको इतिहासमा आजसम्मकै सबैभन्दा तीव्र गतिका बलर ‘रावलपिण्डी एक्सप्रेस’ अर्थात् शोएब अख्तरको । यो त्यही खेलाडीको कथा हो, जो पाकिस्तानको रावलपिण्डीका धुलाम्मे र साँघुरा गल्लीहरूबाट संघर्षका हजारौँ सिँढी उक्लिँदै विश्व क्रिकेटको सर्वोच्च शिखरमा पुग्न सफल भए । एक समय बाल्यकालमा उनको स्वास्थ्य अवस्था यतिसम्म नाजुक थियो कि डाक्टरहरूले उनलाई भविष्यमा सामान्य रूपमा हिँड्डुल गर्नसमेत कठिन हुन सक्ने भविष्यवाणी गरेका थिए । तर, शारीरिक असुविधा र भाग्यको कठोर प्रहारलाई उनले कहिल्यै आफ्नो सपनाको बाधक बन्न दिएनन् । आफ्नो अटल दृढ इच्छाशक्ति, कठोर मेहनत र अदम्य साहसको बलमा उनले मेडिकल साइन्सलाई समेत छक्क पार्दै असम्भव देखिने सपनालाई यथार्थमा परिणत गरेरै छाडे ।

यो त्यही शोएब अख्तरको ल्याकत हो, जसले भारतको ऐतिहासिक कोलकाता मैदान ‘इडेन गार्डेन्स’ मा एक लाखभन्दा बढी दर्शकको विशाल जनसागरको सासमाथि राज गर्दै आफ्नो जादू देखाएका थिए । जसले क्रिकेट जगतमा आजसम्म पनि अटुट रहेको १६१.३ किलोमिटर प्रतिघण्टाको विश्व रेकर्ड गतिमा बल फ्याँकेर इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेखेका थिए । ब्रायन लारा र रिकी पोन्टिङजस्ता महान् ब्याटरहरूले पनि उनको प्रलयकारी गतिको सामना गर्न नेपथ्यमा कति कसरत गर्नुपथ्र्यो । अख्तरको हातबाट छुट्ने अर्को बल आफ्नो कुन अंगमा बज्रिने हो भन्ने अदृश्य त्रास विपक्षी ब्याटरको आँखैमा स्पष्ट झल्किन्थ्यो ।

सौरभ गांगुली र जस्टिन ल्यांगरजस्ता जिद्दी र साहसी ब्याटरहरूले समेत शोएबको तीव्र बलिङको त्यो अग्निपरीक्षा पटकपटक सामना गरेका छन् । उनी मैदानमा केवल विकेट झार्ने सामान्य बलर मात्र थिएनन्, उनी मैदानमा पाइला टेक्नसाथ विपक्षी टोलीको सिंगो क्याम्पमा मनोवैज्ञानिक आतंक र दबाब सिर्जना गर्न सक्ने एक मात्र पात्र थिए । उनको नाम सुन्नासाथ ब्याटरहरूको निद्रा हराउँथ्यो ।

उही महान् र आक्रामक ‘रावलपिण्डी एक्सप्रेस’ शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल–३) को विशेष अवसर पारेर नेपालको भूमिमा कदम राखेका छन् । कुनै समय टेलिभिजनका सानो पर्दामा उनको त्यो खतरनाक बलिङ हेर्दै आफू पनि भविष्यमा ठूला बलर बन्ने सपना सजाउने गरेका नेपाली युवा क्रिकेटरहरूले आज उनै किंवदन्तीलाई आफ्नै आँखाअगाडि प्रत्यक्ष देख्न पाए । अहिलेको क्षण नेपाली खेलकुद जगतका लागि एउटा ऐतिहासिक र अदभूत संयोग बनेको छ ।

उनको नेपाल आगमनले नेपाली क्रिकेटप्रेमीहरूमा मात्र होइन, भर्खरै उदाउँदै गरेका नयाँ पुस्ताका जुझारू क्रिकेटरहरूमा एक खालको छुट्टै ऊर्जा, कम्पन र विशेष उत्साह थपेको छ । विश्व क्रिकेटमा आफ्नो अमिट छाप गति, आक्रामकता र असाधारण साहसले स्थापित गरेका एक महारथीलाई प्रत्यक्ष भेट्न र सुन्न पाउनु नेपाली युवा खेलाडीहरूका लागि सामान्य अवसर होइन, जीवनकै सबैभन्दा ठूलो पाठशाला हो । उनका संघर्षका ती तीता यथार्थ, मैदानभित्रका भोगाइहरू र सफलतासम्म पुग्दाका अनगिन्ती कथाले नेपाली युवा खेलाडीहरूलाई आफ्नो अमूल्य सपना पूरा गर्न थप ऊर्जा र प्रेरणा दिनेमा कुनै शंका छैन ।

कुनै समय विश्वका महानतम ब्याटरहरूलाई आफ्नै छाला काँप्ने गरी गतिको चुनौती दिएका शोएब अख्तर आज नेपालका हरेक कुनाका सपना बोकेका युवा क्रिकेटरका लागि एक जीवित प्रेरणाको स्रोत बनेर उभिएका छन् । रावलपिण्डीको त्यो धुलाम्मे गल्लीबाट सुरु भएको उनको यो अविश्वसनीय यात्राले आज नेपाली क्रिकेटको यो उदीयमान नयाँ पुस्तालाई पनि यो गतिलो सन्देश दिइरहेको छ कि जीवनमा सपना सधैँ आकाशजस्तै ठूलो देख्नुपर्छ, र ती सपनाहरूलाई यथार्थको धरातलमा उतार्नका लागि त्यहीस्तरको कठिन संघर्ष, रगत र पसिना बगाउन तयार हुनुपर्छ ।