काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह, १४४९ विद्यार्थी दीक्षित हुने



मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौं विश्वविद्यालयले २७ औं दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रम मसिंर २९ गते बुधबार भारतीय विश्वविद्यालय संघका महासचिव डा. श्रीमती पंकज मित्तलको प्रमुख आतिथ्यतामा हुने भएको छ । विश्वविद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालयको दीक्षान्त समारोह र ३० औ वार्षिकोत्सव सम्वन्धी जानकारी गराइएको थियो ।

‘नेपालमा उच्च शिक्षाको बास्केटमा विश्वविद्यालयले उत्पादन गरेको सख्या थोरै होला’–विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले भन्नुभयो–‘गुणस्रयीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले पु-याएको योगदान अतुलनीय छ ।’ मुलुकका लागि आवश्यक पर्ने शैक्षिक जनशक्ति काठमाडौँ विश्वविद्यालयले उत्पादन गरेको बताउँदै उपकुलपति डा. थापाले पछिल्लो समय विश्वविद्यालयको अधिकार कटौती हुँदै विद्यार्थी भर्ना समेत हुन नसकेको दृष्टान्तका बारेमा भएका सरोकारवाला पक्षहरूले समयमै ध्यान दिनु पर्ने बताउनु भयो ।

‘राजधानीमा पाउने बस्तुको मूल्य र अन्यत्र फरक हुन सक्छ’–उपकुलपति डा. भोला थापाले भन्नुभयो–‘सबै क्षेत्रमा प्राप्त हुने सेवा र बस्तुलाई एउटै डालोमा राखेर गरिने निर्णयले शैक्षिक क्षेत्र धरासयी हुने छ ।’ अघिल्लो वर्ष विश्वविद्यालयले प्राप्त गरेको सिटमा विभिन्न विद्यामा ४० जना विद्यार्थी भर्ना भएका छैनन् भने यो वर्ष झण्डै विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा गरी ५ सय ८२ सिट अझै खाली रहेको उपकुलपति थापाले बताउनु भयो ।

पत्रकार सम्मेलनमा रजिस्ट्रार प्रा.डा सुबोध शर्माले काठमाडौँ विश्वविद्यालयले महिला शशत्तिकरण तथा शैक्षिक गुणस्तर कायम गर्ने भूमिका खेलेको बताउनु भयो । यो वर्ष दीक्षान्त समारोहमा ७ वटा स्थानबाट एकै पटक डिनहरू मार्फत विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

कोभिड १९ को महामारीका कारण दोस्रो चरणको कार्यक्रम वैशाख दोस्रो सातामा मात्रै हुनेछ । पहिलो चरणको दीक्षान्त समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साईन्सेज र साइन्स विद्याका १२ जना पिएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित हुनेछन् ।

ती मध्ये आर्ट्सका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना रहेका छन् । दीक्षित मध्ये महिला ५१.५५ प्रतिशत अथार्त ७ सय ४७ जना र ४८.४५ प्रतिशत ७ सय २ जना रहेका छन् । बंगलादेश, बेनिन, निदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुस गरी ८ देशिका १ सय २३ जना विदेशी विद्यार्थी पनि दीक्षित हुनेछन् ।

विश्वविद्यालयको इतिहासमा पहिलो पटक मास्टर इन पब्लिक पोलेसी र म्यानेजमेन्टमा ११ जना, मास्टर इन इनर्जी इफिसिएन्ट विल्डिङ्ग डिजाइनमा ३ जना र मास्टर वाई रिसर्च इन सिभिल इन्जिनियरिङमा २ जना गरी १६ जनालाई काठमाडौँ विद्यालयले उपाधि प्रदान गर्दैछ ।

२७ औ दीक्षान्त समारोहसम्म ३६ हजार ६ सय २४ जना विद्यार्थीलाई दीक्षित गराइसकेको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विधान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, उपकुलपति डा. भोला थापा लगायतको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक प्रा.डा. पन्ना थापा, एशोसिएट डिन प्रा.डा मनोज हुमागाईँ लगायतले दीक्षान्त समारोहका बारेमा जानकारी गराउनु भएको थियो ।

विश्वविद्यालयको ३० औ वार्षिकोत्सव

काठमाडौँ विश्वविद्यालयको ३० औ वार्षिकोत्सव शनिबार विश्वविद्यालय परिसरमा आयोजना गरिएको छ ।

बार्षिकोत्सवको अवसरमा विश्वविद्यालयले स्थापना देखि सेवा गर्नु भएको स्व. रामानन्द मिश्र र स्व.टीकादत्त बराललाई केयु ओरेसन २०२१ बाट सम्मान गरिने भएको छ । सम्मान पत्र उहाँहरुका परिवारलाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्