निराशाको निषेध ‘जीवनको पाठशाला’



काठमाडौं ।

नेपाली कांग्रेसका बौद्धिक नेता तथा लेखक नरहरि आचार्यले जीवनको पाठशाला नामक पुस्तक प्रकाशित गर्नुभएको छ । पुस्तकका विषयमा बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

नेता आचार्यको ६८औं जन्मदिनको अवसरमा सार्वजनिक यस पुस्तकमा नेपाली राजनीतिको पछिल्लो परिवर्तन, पारिवारिक सम्बन्ध, जीवनका अनुभूति, पक्षाघातले पारेको असर र जीवनमा निरन्तर केही गरिरहनुपर्छ भन्ने उत्साहजनक भाव समेटिएको छ ।

आफू आबद्ध पार्टी नेपाली कांग्रेसलाई संविधानसभा र गणतन्त्रको एजेन्डामा ल्याउन ऐतिहासिक भूमिका खेलेका आचार्य २०७२ माघ २६ गते अचानक मस्तिष्कघात भएपछि राजनीतिमा निस्क्रिय हुनुहुन्छ । स्वास्थ्यमा सुधार आउँदै गर्दा तयार पारिएको यस पुस्तकका लागि लेखन कार्य उहाँकी प्रसिद्ध साहित्यकार श्रीमती शारदा शर्माले गर्नुभएको हो ।

कांग्रेस नेता आचार्यले लेखकीयमा भन्नुभएको छ, पुस्तकमा सबै मेरो जीवनसँग स्पर्श भएका प्रसङ्गहरू छन् । ज–जसका बारेमा प्रसङ्ग उल्लेख गरेको छु, जस्तो मैले अनुभव गरेँ, त्यस्तै छ । आचार्यको पुस्तकका बारेमा डा. जयराज आचार्य भन्नुहुन्छ– ‘विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुन गएको राजनीतिक विश्वास, विचार र कार्यक्रमलाई यस आत्मकथामा उनेर माला बनाउने बलियो धागो भनेको देखिन्छ ।’

पुस्तकका लेखक आचार्यलाई डा. देवेन्द्रराज पाण्डेले चलनचल्तीको राजनीतिबाट सन्तुष्ट भएर आफ्नो सुरक्षा र सुविधामा रमाउनुको सट्टा पार्टी र राज्य दुवैमा युगान्तकारी सुधारका निम्ति निरन्तर प्रयासरत रहने दुर्लभ नेताका रूपमा आफूले चिनेको बताउनुभएको छ ।
अन्तरक्रिया कार्यक्रमका सिके लाललगायतका समीक्षकले जीवनमा मष्तिष्कघातजस्तो समस्या आइपरे पनि श्रीमतीको साथ पाएका कारण एकपछि अर्को पुस्तक दिन सक्नु उत्साहको उदाहरण हो भन्नुभएको छ । पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्