बालकोटमा युवकको हत्या, मुख्य योजनाकारसहित दुई पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको बालकोटमा एक युवकको हत्या भएको छ ।सुर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षिय राजन श्रेष्ठको शब सुर्यविनायक–२, बसीटोलस्थित हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो । निर्माणाधीन हनुमन्ते करिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउको क्षतविक्षत हुनेगरी धारिलो हतियार प्रहार गरिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शब मध्यपुर अस्पतालमा लगिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीले हनुमन्ते करिडोर किनाराको टहरानजिक होहल्ला भएको र स्थानीय तथा प्रहरी घटनास्थल पुग्दा श्रेष्ठ गंभीर घाइते अवस्थामा थिए ।प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्याउँदा मृत घोषणा गरेको जनाएको छ ।

घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति उद्धार गरी मध्यपुर अस्पताल लगिएको थियो ।प्रनाउ रेग्मीसहितको अनुसन्धान टोली राति नै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले रातभरि कुटपिट गर्ने व्यक्तिको खोजी गरेको थियो ।

श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सुर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षीय प्रेम विक रहेका छन् ।

प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ। मृतक राजन जग्गा व्यवसायी रहेको र उनीहरूबीच आर्थिक लेनदेनको विवाद देखिएको प्रहरीको भनाई छ ।
स्रोतका अनुसार हेमन्तले फोन गरी बोलाएपछि मंगलबार राति घरमै रहेका राजन मध्यपुर थिमि–३ गठ्ठाघर पुगेका थिए।

राजनको गाडी गठठघरमा राखी उनीहरु मोटरसाइकलमा बालकोट पुगेर आर्थिक लेनदेनको विषयमा छलफल भएको देखिन्छ । त्यहीं विवाद हुँदा हेमन्त र प्रेमले चिर्पट, फलामको रड लगायतले अनुहारमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।घटनामा पक्राउ परेका दुई जना आरोपीबाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरुले अनुसन्धानको दायरा फराकिलो बनाउन मागसमेत गरेका छन् ।

घटनास्थल वरपर एक सय मिटरको दुरीमा समेत विभिन्न ठाउँमा रगतका टाटा देखिएको भन्दै आफन्तले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्न भएको दाबी गरेका हुन् ।मृतकका आफन्तले घटनास्थलदेखि केही मिटरको दूरीमा रहेको एकघरको कम्पाउण्डभित्र विभिन्न स्थानमा रगतको टाटा देखिएकोले सो घर र घरमा बस्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

स्थानीयका अनुसार सो घरको फलामको रेलिङ बार, तुलसीको मठ लगायतका स्थानमा रगतको टाटा देखिएको थियो।प्रहरीले त्यो रगत मृतकको हो वा होइन भनी फरेन्सिक जाँचको लागि पठाएको र त्यसको रिपोर्ट आएपछि मात्र यकिनका साथ भन्न सकिने जनाएको छ ।मृतक श्रेष्ठ बुबाको मृत्यु भए पछि एक वर्षको आशोच बारिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्